तनहुँ भारतीय बस दुर्घटनाः मृतकको शव पोष्टमार्टमका लागि भरतपुर ल्याइयो

चितवन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार बस दुर्घटनामा परी मृत्यु भएकाहरुको पोष्टमार्टम चितवनको भरतपुरमा हुने भएको छ । बसमा सवार ४३ मध्ये दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये २६ जनाको शव आँबुखैरेनी अस्पतालमा संकलन भएको थियो भने एक जनाको उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेज मृत्यु भएको थियो । सबै मृतकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेश्वर रिमालले जानकारी दिनुभयो । मृत्यु हुनेहरु सबै भारतीय नागरिक भएका कारण नेपालस्थित भारतीय दूतावासका प्रतिनिधि समेत भरतपुर आएका छन । उहाँका अनुसार पोष्टमार्टमपछि दूतावासमार्फत् शव आफन्तलाई जिम्मा लगाइने छ ।

भारतको गोरखपुरबाट पर्यटक लिएर आएको बस भदौ ४ गते बेलहिया नाकाबाट नेपाल प्रवेश गरेको थियो । भैरहवाबाट पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौंका लागि पोखराबाट हिँडेका थिए । उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो । दुर्घटनामा घाइते १६ जनालाई उपचारकालागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बसमा सवार सबै यात्रुहरु भारतीय नागरिक हुन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको