बारा । विषाक्त खानाको कारण बाराको सिम्रौनगढमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका ७ झवानी टोल निवासी नरेश रामका तीनजना छोराछोरीको विषाक्त खाना (फूड प्वाइजन) को कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
‘घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका उनीहरु शनिबार राति सिकिस्त बिरामी भएपछि अस्पताल लगिएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले भने, ‘सोमबार उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो।’
मृत्यु हुनेमा ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन राम छन्। उनीहरुको उपचारको क्रममा कलैया र वीरगञ्जका अस्पतालमा मृत्यु भएको हो। चिकित्सकहरुले उनीहरुको मृत्यु फुड प्वाइजनबाट भएको बताएका छन्। खाना खाएपछि पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएपछि बालबालिकालाई अभिभावकले अस्पताल पुर्याएका थिए।
परिवारका सबै सदस्यले माछासहितको खाना खाए पनि अभिभावक भने बिरामी नपरेका डीएसपी सापकोटाले बताए। मृतक तीनैजना बालबालिकाको शव पोष्टमार्टमपछि अभिभावकलाई जिम्मा लगाइएको उनले जानकारी दिए ।









