
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस स्वतन्त्रताको पक्षमा रहेर मिडिया काउन्सिल विधेयक बनाउने बताउनुभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गर्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुढृड बनाउन उक्त विधेयक ल्याउन लागेकाले शङ्का नगर्न आग्रह गर्नुभयो ।
मन्त्री गुरुङले मिडिया काउन्सिललाई एक स्वतन्त्र र स्वायत्त निकायका रुपमा विकास गर्ने भन्दै सरकार नियन्त्रित प्रजातन्त्रको पक्षमा नभएको बताउनुभयो । छलफलमा सांसदहरुले मिडिया काउन्सिल विधेयक जनताको पक्षमा हुनुपर्ने भन्दै प्रेस जगतलाई अङ्कुश लगाउने गरी कानुन बनाउन नहुने तर अमर्यादित विषयहरूलाई भने नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।