चितवन । चितवनको कालिका नगरपालिकालाई १६ महिनादेखि २३ महिना सम्मका सबै बालबालिकालाई १५ महिना उमेर भित्र पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै शुक्रवार एक समारोहका बिच कालिका नगरपालिका पूर्ण खोप सुनिश्चतता तथा दिगोपना नगर घोषणा भएको हो ।
खोप समन्वय समितका संयोजक तथा कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले सबैको प्रयासबाट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको घोषणा गरे । नगर प्रमुख रेग्मीले प्रत्येक वडामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको बताए । स्वास्थ्य सेवा कार्यालयले खोप उपलब्ध गराउँदा घोषणा कार्यक्रममा सहयोग पुगेको उनको भनाइ छ । खोपको पहुँच भन्दा कोही पनि बालबालिका बाहिर नरहेको नगर प्रमुखले बताए ।
पालिकाको १ देखि ११ वटै वडामा घरधुरी सर्वेक्षण गरी शून्यदेखि १५ महिना मुनिका, १६ महिनादेखि २३ महिना सम्मका १ हजार ७ सय ७४ जना बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएको कालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए ।जिल्ला खोप समन्वय समिति चितवनले गत असार महिनामा कालिका नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गर्न अनुमति प्रदान गरेको थियो । स्वास्थ्य संस्थाको टोली सबै खोपकेन्द्रमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए, नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको छ ।
कार्यक्रममा उपप्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेति लगाएतले नगर पूर्ण खोप घोषणा भएकोमा धन्यवाद दिए । सो अवसरमा स्वास्थ्य संस्थाका ३ जना स्वास्थ्यकर्मी, २ जना महिला स्वयमसेविका, १ जना कार्यालय सहयोगी, सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई कार्यको उच्च मुल्याङकन गर्दै कदर पत्र सहित सम्मान, १ देखि ११ वटै वडाहरुले पूर्ण खोप सुनिश्चित प्रमाणपत्र प्राप्त गरेकाछन् ।
उमेर पुगेका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित हुनुले संक्रमणबाट कोहि पनि प्रभावित नहुने स्वास्थ्यकर्मीहरू बताउँछन् । पूर्ण मात्रको खोप लगाउँदा स्वास्थ्य सेवा सुधार हुन्छ । खोप लगाउनु अनिवार्य हो । स्वस्थ समाज बनाउन खोप अनिवार्य छ । स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका/नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्तर्गत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।
पूर्ण खोप सुनिश्चितता र दिगोपना नगर घोषणा कार्यक्रम सहभागीहरूले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्धता सहित हस्ताक्षर समेत गरेका छन् ।