चितवनमा एक बर्षको अवधिमा १ सय ५६ जनाले त्यागे नागरिकता

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्दै गएको छ । पारिवार सहित विदेशमा व्यवस्थित बसोबास गर्न थालेपछि यहाँका नागरिकले नागरिकता परित्याग गर्न थालेका हुन् ।

जिल्ला प्रशाशन कार्यालय चितवनका अनुसार, एक बर्षको अवधिमा एक सय ५६ जनाले नागरिकता परित्याग गरेका छन् । आर्थिक बर्ष २०८०/०८१मा यहाँबाट १२ हजार ९ जनाले नेपाली नागरिकता लिँदा १ सय ५६ जनाले त्याग गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

‘चितवनमा बढी स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरूको संख्या बढिरहेको छ,’ उनले भने ‘बाहिरी मुलुक बस्ने भएपछि यहाँको नागरिकता त्याग्ने क्रम छ ।’

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको हो । गैरआवासीय नेपाली नागरिकहरुले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरु बढेको प्रशासनको भनाई छ ।

अहिलेसम्म चितवन जिल्लामा एक सय ३१ जनाले गैरआवासीय नागरिकता ल्याएका छन् । नेपाली नागरिकता त्याग गरेपछि विदेशको नागरिकता लिन पाउने व्यवस्थाका कारण पनि नेपाली नागरिकता त्याग गरेको प्रजिअ यादवले जानकारी दिए ।

लामो समयदेखि वैदेशिक रोजगार साथै डिभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ । नागरिकता त्यागनेमा महिला पुरुष बराबर जस्तै छन् ।

चितवनमा नागरिकता लिनेको संख्याभन्दा राहदानी बनाउनेको संख्या बढी छ । जिल्ला प्रशासन कार्यालय चितवनको तथ्यांक अनुसार गएको आर्थिक बर्ष १२ हजार ९ जनाले नागरिकता बनाउँदा ३३ हजार २९३ जनाले राहादानी लिएका छन् । नागरिकता लिने र राहादानी लिनेको अन्तर २१ हजार २८४ छ । जिल्लाबाट बशजको आधारमा ११ हजार ९६८, बैबाहिक अंगिकृत ४१ जनाले लिएका छन् । यस्तै प्रतिलिपि नागरिकता लिनेको संख्या १३ हजार ७९० रहेको प्रशासनको तथ्यांकमा उल्लेख छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको