भीमेश्वरको शिलामा आयो पसिना

दोलखा । प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको शिलामा शनिवार दिउँसो दुई पटक पसिना आएको छ । पहिलो पटक शनिवार दिउँसो १ः४७ बाट शिलाको बाँयापट्टी पसिना आउन सुरु भएकोमा ३ः५१ बजे रोकिएको र दोस्रो पटक ४ः०५ बजे शिलाको दाँयापट्टीबाट सुरु भई सबैतिर झण्डै १०/१२ मिनेट पसिना आएको दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले बताउनुभयो ।

शिलामा पसिना आएपछि ठूलो सङ्ख्यामा स्थानीय भक्तजनहरू भेला भएका थिए । उनीहरूले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शिलाको पसिना कपासले पुछेका थिए । त्यसैगरी परम्परा अनुसार तान्त्रिक विधिबाट शिलामा पूजा समेत गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ । भीमेश्वरको शिलामा दायाँपट्टी पसिना आउँदा राष्ट्रप्रमुखलाई असर गर्ने र बाँयापट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहँदै आएको छ । शिलामा पसिना आउँदा शुभ या अशुभ दुवै खाले प्रभाव पर्न सक्ने स्थानीय ज्येष्ठ नागरिकहरूको भनाई छ । शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पुरा हुने जनविश्वास समेत रहेको छ ।

शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमा पुजा गर्ने प्रचलन समेत रहेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वरको शिलामा अहिलेसम्म २१ पटक पसिना आइसकेको स्थानीयको भनाई छ । पछिल्लो पटक २०७८ वैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो । भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि पसिना आएको स्थानीय ज्येष्ठ सदस्यहरूको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको