काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ । शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
स्रोतका अनुसार एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ ।
पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी छ । स्रोतका अनुसार गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दैछन् । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिकमन्त्री बन्दैछन् ।
त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई बन्दैछन् । एमालेबाटै राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् ।
उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिँदै छन् ।
(यसअघि समाचारमा केही नाम र जिम्मेवारी तलमाथि परेकोले क्षमायाचनासहित सच्चाइएको छ । )