चितवन पहिरोमा परेर बेपत्ता एन्जल डिलक्स बसमा २४ र गणपति डिलक्सको बसमा चढेका थिए ३१ यात्रु

काठमाडौं । गएराति चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना  यात्रु लिएर काठमाडौ‌का लागि छुटेको  र गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ ।

प्रदेश ०३००६ ख १५१६ नं. को एन्जल डिलक्स बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने एकीन भइसकेको छैन । त्यसमा केही यात्रु भारतीय पनि थिए । सो बस आज बिहान चितवनको सिमतालमा पहिरोमा परेको थियो । चालक जवाहिर महतोले हाँकेको उक्त बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो ।

त्यसैगरि  गणपति डिलक्सको बसमा काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।

सो बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ । यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ ।

नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम पनि उल्लेख छैन ।

काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो ।

काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको