कालिकामा फोहरमैला संकलन तथा व्यवस्थापन गरिँदै

चितवन । कालिका नगरपालिकामा फोहरमैला संकलन तथा व्यवस्थापनमा स्थानीय सरोकारवालाहरु सकारात्मक देखिएका छन् । फोहर संकलन तथा व्यवस्थापनबारे कालिका नगरपालिकाले स्थानीय सरोकारवालाहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा सकारात्मक देखिएका हुन् ।

खोलेसिमल बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हरि भण्डारीले लामो समयको दबाब र संघर्षपछि पालिकाले फोहरमैला व्यवस्थापन गर्ने विषयमा चासो देखाएकोमा खुशी व्यक्त गरे । घरवाट निस्किने फोहरमैलालाई वर्गीकरणको आधारमा न्यूनतम शूल्क तिर्न तयार रहेको उनले स्पष्ट पारे। नगरक्षेत्रभित्रका सबै टोल विकास संस्थाहरु एकीकृत नभएका कारण फोहरमैला व्यवस्थापनबारे जनचेतना बाँड्नुपर्ने उनले बताए । प्रत्येक वडाभित्रका टोल विकास संस्थाका सदस्यहरुलाई वडाका जनप्रतिनिधिहरुकै रोहवरमा फोहर व्यवस्थापनबारे सचेत गराउन आवश्यक रहेको छ ।

यस्तै कालिका–८ स्थित कालिका टोल विकास संस्थाका इन्द्रबहादुर थापाले फोहर व्यवस्थापनमा आफुहरु सहयोग गर्न तयार रहेको बताए । सकेसम्म नगर क्षेत्रभित्र फोहर कम उत्पादन हुने तर्फ जोड दिनेबारे गम्भीर हुन उनले पालिकालाई सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विनोद रेग्मीले फोहरमैला व्यवस्थापनमा स्थानीयले साथ दिए आगामी भदौ महिनाको पहिलो सातादेखि नै फोहर संकलन तथा व्यवस्थापनको काम सुरु हुने जानकारी दिए । नगरक्षेत्रभित्रको फोहर संकलन तथा व्यवस्थापनका लागि सफा उर्जा नामको संस्था लगायत अन्य केही कम्पनीहरुले पनि चासो दिइरहेको उनले जानकारी दिए । निकै लामो समयको अध्ययनपछि नगरक्षेत्रभित्रको फोहर संकलन तथा व्यवस्थापनबारे नगरपालिकाले कार्यविधि समेत तयार पारेको उनले बताए ।

फोहर व्यवस्थापनका लागि स्थानीय सामुदायिक वनहरुसँग छलफल गर्दै आएको नगरपालिकाले निकटमै टेन्डर मार्फत फोहर संकलन तथा व्यवस्थापन गर्ने तयारीमा छ । खैरहनी र रत्ननगर नगरक्षेत्रभित्रको फोहर संकलन तथा व्यवस्थापनको जिम्मा लिएको सफा उर्जासंग फोहर संकलनको विषयमा छलफल भइरहेको नगर प्रमुख रेग्मीको भनाई छ ।

सफा उर्जाले सेवाग्राहीको वर्गीकरण गरेर नागरिकसँग मासिक रुपमा सेवा शूल्क लिएर फोहरमैला संकलन तथा व्यवस्थापन गर्दै आएको छ । ‘सफा उर्जा लगायतका संस्थाहरु कालिका क्षेत्रभित्रको फोहरमैला संकलन तथा व्यवस्थापन गर्न तयार छन् । त्यसका लागि केही शुल्क तिर्नुपर्ने हुन्छ । यो विषयमा छलफल जारी छ’, नगर प्रमुख रेग्मीले भने ।

कालिकामा दैनिक ३ देखि ५ टन फोहरमैला संकलन हुने अनुमान छ । सफा उर्जाले फोहरमैला संकलन तथा व्यवस्थापनका लागि कालिका नगरपालिकालाई दिएको दररेट सेवा शूल्कका सम्बन्धमा सरोकारवालाहरुसँग राय संकलन गर्न अन्तरक्रिया गरिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको