कालिका नगरपालिकाले दुग्ध उत्पादक किसानहरुलाई वितरण गर्‍यो अनुदान रकम

चितवन । दुग्ध उत्पादनमा प्रोत्साहन स्वरुप कालिका नगरपालिकाले दुग्ध उत्पादक किसानहरुलाई प्रति लिटर एक रुपैयाँका दरले आर्थिक अनुदान वितरण गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा दुध उत्पादनगरि दुग्ध उत्पादक सहकारी संस्थाहरुमा विक्रीगर्ने कालिका नगर क्षेत्रभित्रका ७ वटा सहकारी संस्था मार्फत अनुदान रकम वितरण गरिएको हो । कालिका नगरक्षेत्रका किसानहरुले बार्षिक ३१ लाख ३३ हजार ९ सय ७३ लिटर दुध दुग्ध उत्पादक सहकारी संस्था मार्फत विक्रीगर्दै आएका छन् ।

दुग्ध उत्पादक सहकारी संस्थामा विक्रीगर्नै कृषकहरुलाई प्रति लिटर एक रुपैयाँका दरले दुध उत्पादनमा अनुदान कार्यक्रम अन्तर्गत छनौटमा परेका किसानहरुलाई ३१ लाख ३३ हजार ९ सय ७३ रुपैयाँ अनुदान रकम सहकारी मार्फत नगरपालिकाले वितरण गरेको हो।

नगर प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तमाङले संयुक्त रुपमा ७ वटा सहकारीका अध्यक्ष र व्यवस्थापकलाई उनिहरुले विक्री गरेको दुधको आधारमा पाउनुपर्ने अनुदान रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

चेक हस्तान्तरण कार्यक्रमलाई संवोधनगर्दै नगर प्रमुख विनोद रेग्मीले कालिका नगरपालिकाले कृषि र पशुपालनलाई विशेष प्राथमिकता दिदै आएको बताउनुभयो । यो आर्थिक वर्षको भखरै केही दिन अघि पारित भएको नगरको नीति तथा कार्यक्रममा पनि कृषि र पशुपालनलाई प्राथमिकता दिएको उहाँले जोड दिनुभयो । यो वर्षपनि दुधमा प्रति लिटर १ रुपैयाँ अनुदानदिने कार्यक्रमलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो । अनुदान दिने कार्यक्रमले साना, ठूला सबै किसानलाई यो कार्यक्रमवाट लाभान्वित बनाएको विश्वास व्यक्तगर्नुभयो ।

यो वर्षपनि पशुपालनगर्ने कृषकहरुलाई घाँसको बीउ प्रयाप्त मात्रमा पालिकाले उपल्ध गराउने प्रतिवद्धता जनाउनुभयो । उत्पादनमा लागत घटाउँदै आर्थिक बृद्धिदर बढाउने तर्फ किसानहरुलाई लाग्न समेत उहाँले सुझाव दिनुभयो ।

दुधसँगै दुधजन्य अन्य परिकार उत्पादनमा सहकारीहरुले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । आफ्नै उत्पादन गरेर ब्राण्डीङगर्न समेत नगर प्रमुख रेग्मीले सुझाव दिनुभयो । त्यसका लागि आवश्यक मेसिनदेखि अन्य सहयोग गर्न पालिका तयार रहेको बताउनुभयो । पुरानै शैलीमा दुध मात्रै विक्री गरेर आर्थिक सम्बृद्धीको बाटोमा हिड्न कठिन भइरहेकाले यसलाई परिस्कृतगर्दै जान सुझाव दिनुभयो । उत्पादन र संकलनसँगै गुणस्तरमा ध्यान दिन उहाँले आग्रहगर्नुभयो । कालिकाको दुध भन्ने वित्तिकै गुणस्तरीय छ भन्ने सन्देश दिनुपर्नेगरी कामगर्न सहकारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख विमला तमाङले दुध उत्पादनसँगै यसलाई विविधिकरण गरेर बजारीकरणमा जोड दिन आग्रहगर्नुभयो । चिसो पेयपदार्थको विगविगी भइरहेका बेला कालिकामा उत्पादन भएको दुध, दही, मही खान पाउनेगरी बजारीकरणगर्न सुझाव दिनुभयो ।

स्थानीय बजारमा बाहिरबाट आएका उत्पादनलाई निरुत्साहित बनाउन स्थानीय उत्पादनवाट बन्ने विभिन्न परिकार स्थानीय बजारवाटै खपत गराउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कालिकाको उत्पादनलाई यहाँका स्थानीय बजारका पसलपसलमा पुर्याउन सके आर्थिक बृद्धीदर सहजै हुने विश्वास व्यक्तगर्नुभयो ।
कार्यक्रममा कालिका वडा नं. ७ का वडा अध्यक्ष टिकाराम रेग्मीले पशुका लागि गुणस्तरीय आहारमा जोड दिन किसानहरुलाई सुझाव दिनुभयो । पशुको आधारमा घाँसको विकासगर्न सके यसवाट लागत घटाउँदै आर्थिक बृद्धीदरका लागि स्थानीय उत्पादनलाई ब्राण्ड बनाएर अगाडी बढ्न सकिने सम्भावना रहेको उल्लेखगर्नुभयो ।

अनुदान वितरण कार्यक्रममा कालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेलले दुग्ध उत्पादनगर्ने सहकारीहरुले विचौलीयाको कामगर्दै आएको बताउनुभयो । किसानवाट काँचो दुध लिएर काँचै दुध विक्रीगर्नुबाहेक अन्य काम नगरेको उहाँले आरोप लगाउनुभयो । काँचो दुध बाहेक अरु प्रोडक्ट उत्पादनमा जोड दिन सके आर्थिक बृद्धिदर सुधारहुने उहाँले बताउनुभयो । निर्वाह मूखी पशुपालन भन्दापनि व्यवसायिकमुखी बनाउने तर्फ जुट्न किसानहरुलाई आग्रहगर्नुभयो ।

सहकारीहरुको तर्फवाट उत्थान दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद ढुंगानाले दुध उत्पादनमा प्राप्त अनुदान रकमले कृषकहरुमा उत्साह थपिएको बताउनुभयो । पालिका स्थापनाभए देखिनै किसानलाई उत्प्रेरणा दिने खालका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । हरेक किसानको अभिभावक नगरपालिका भएकाले पालिकावाट प्राप्तहुने अनुदान लगायत अन्य सहयोगहरु सबैको पहुँच सम्म पुयाउँन उहाँले आग्रहगर्नुभयो । माग्ने आउनेलाई मात्रै दिने परिपाटी अन्त्य गरी आवश्यकताका आधारमा वितरण भए सबैको पहुँच सम्म पुग्ने उहाँको भनाई छ। त्यसका लागि पालिका आफै अनुगमनगर्नुपर्ने बताउनुभयो । प्रचार मूखी भन्दापनि परिणाममूखी जनप्रति हामीले चाहेका छौं । उहाँले भन्नुभयो– सम्बृद्ध कालिका र सुखी कालिकाबासी भन्ने नाराका लागि योजना बनोस हामी सहयोगगर्न तयार छौं ।

कार्यक्रममा मनकानम दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एवम कालिका नगरपालिका वडा नं. ६ का वडा सदस्य लक्ष्मी नारायण चौलागाई, सामुदायिक दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष कल्पना आचार्यले आर्थिक अनुदान वितरण कार्यक्रमबारे बोल्नुभएको थियो ।

पशुसेवा शाखा प्रमुख डा. राजु प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम आर्थिक विकास समिति संयोजक दीपक सिंह परियारको अध्यक्षतामा आयोजना गरिएको हो ।

कुन सहकारीले कति अनुदान रकम पाए ?
१. मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं.६ ले ८ लाख ५८ हजार ८२ रुपैयाँ । ( बार्षिक दुध उत्पादनः८५८०८२.५ लिटर)

२. पदमपुर दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं. २ ले ८ लाख १४ हजार ९० रुपैयाँ ( बार्षिक दुध उत्पादन ८१४००९० लिटर)

३. नवमिलिजुली दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं. ६ ले ४ लाख ९६ हजार २ सय ७ रुपैयाँ (बार्षिक दुध उत्पादन ४९६२०७ लिटर)

४. उत्थान दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं. ८ ले ५ लाख ७२ हजार ३ सय ८८ रुपैयाँ ७५ पैसा ( बार्षिक दुध उत्पादन, ५७२३८८.७५ लिटर)

५. सामुदायिक दुग्ध उत्पादक सहकारी संस्था लि कालिका वडा नं. १ ले १ लाख ३६ हजार ३ सय ९६ रुपैयाँ, १४ पैसा ( वार्षिक दुध उत्पादन, १३६३९६.१४ लिटर)

६. कन्चन दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं. ६ ले १ लाख २३ हजार ८ सय ९४ रुपैयाँ ३० पैसा । (बार्षिक दुध उत्पादन १२३८९४.३० लिटर)

७. भटेनी दुग्ध उत्पादक सहकारी संसथा लि. कालिका वडा नं ६ ले १ लाख ३२ हजार ९ सय १५ रुपैयाँ । ( बार्षिक दुध उत्पादन १३२९१५ लिटर)

जम्माः ३१ लाख ३३ हजार ९ सय ७३ रुपैयाँ ५९ पैसा मात्र । दुध उत्पादन बार्षिक ३१,३३,९७३.५९ लिटर)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको