चितवन । कालिकामा ६ महिने निशुल्क सिलाइ कटाइ तालिम सम्पन्न भएको छ । कोमल हृदय प्रतिष्ठानले कालिका-६मा संचालित तालिममा कालिकाका ३,६ र ७ नं. वडा का २१ जना विपन्न महिलाहरुको सहभागीता रहेको थियो ।
सो निशुल्क तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निशुल्क सिलाइ मेशिन समेत प्रदान गरिएको थियो । सस्थाका संस्थापक अध्यक्ष
अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख विनोद रेग्मीले सहभागीहरुलाई प्रमाणपत्र र सिलाइ मेशिन प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले सिपलाई आयआर्जन र उद्मशीलतामा जोडन आग्रह गर्नुभयो । “तालिम लिएपछि जिवन, श्रम, उत्पादन र आयर्जनसंग जोडनु पर्छ, त्यसपछि मात्रै तालिम लिएको अर्थ हुन्छ,” उहाँले भन्नुभयो । प्रमुख अतिथी समेत रहनुभएका रेग्मीले कोमल हृदय प्रतिष्ठानलाई धन्यवाद दिनुभयो । उहाँले नगरपालिकाले आगामी दिनमा पनि संस्थासंग जोडिएर काम गर्ने बताउँनु भयो ।
सो अवसरमा कालिका नगरपालिकाका शाखा अधिकृत प्रकाशचन्द्र पौडेल, संस्थाका चितवन कोअर्डिनेटर ईश्वर कुमार श्रेष्ठ, सस्थाका सदस्य शोभा ढकाल, तालिम प्रशिक्षक सोनी महत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो संस्थाले यस अगाडि पनि कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका क्षेत्रका विभिन्न बस्तीमा सोही प्रकारको तालिम उपलब्ध गराइसकेको छ । संस्थाले यस अगाडि विपन्न बस्तीका स्कुल र गाउँहरुमा छात्रवृत्ति वितरण, न्यानो कपडा, खाद्यान्न, झुल लगायतका सामग्रीहरु पनि सहयोग गर्दै आएको संस्थाका कोअर्डिनेटर ईश्वर कुमार श्रेष्ठले जानकारी दिए ।