चितवन । आज असार १५, मानो रोपेर मुरी फलाउने दिन । देशभरका किसानहरुले आजको दिनलाई विशेष पर्वको रुपमा मनाउँदै आएका छन् । कृषि क्षेत्रको प्रर्वद्धनका लागि नेपाल सरकारले राष्ट्रिय स्तरमै धान दिवस मनाउँने गरेको छ । आज देशभरका किसानहरुले विभिन्न कार्यक्रमगरी धान दिवस मनायो । कालिका नगरपालिकाका किसानहरुले पनि २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ भव्य कार्यक्रमका बीच मनाइएको छ ।
कालिका वडा नं. ८ स्थित न्यूरेनी ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाले न्यूरेनीमा आयोजना गरेको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको नगर प्रमुख विनोद रेग्मीले उद्घाटन गर्नुभयो । उहाँले धान रोपेर रोपाइँ महोत्सवको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमपछि किसाहरुलाई संवोधनगर्दै नगर प्रमुख रेग्मीले कृषि क्षेत्रलाई उत्पादनसँग जोड्न आग्रहगर्नुभयो । नगरलेपनि कृषि क्षेत्रको विकासलाई आफ्नो नीति तथा कार्यक्रममै विशेष प्राथमिकता दिएर अगाडी बढिरहेको भन्दै नगरप्रमुख रेग्मीले किसानहरुको माग बमोजिम कृषि क्षेत्रलाई आवश्यकपर्ने औजार, मेसिन देखि मल, बीउलाई विधि प्रकृया अनुसार प्रदानगर्दै आएको जानकारी दिनुभयो ।
कृषि क्षेत्रमा नगरलाई अब्बल बनाउन यहाँका उत्पादन योग्यजग्गाहरुलाई बाँझो नराख्न आग्रह गर्नुभयो । धान हुने ठाउँमा धान लगाउँ, धान नहुने ठाउँमा अन्य खेतीबाली गरौं, त्यो पनि नहुने ठाउँमा घाँसपात लगाउँ, फलफुल लगाउँ उहाँले भन्नुभयो – “आयआर्जनसँग जोडिनेगरी उत्पादनलाई जोड दिउँ ।”
नगरपालिकाले पशुपालनलाई समेत प्राथमिकता दिएको बताउनुभयो । दुग्ध उत्पादन हाम्रो प्राथमिकतामा छ उहाँले भन्नुभयो– “मासुको उत्पादनलाई पनि प्राथमिकतामा राखेका छौं । ”
कार्यक्रममा नगर उप प्रमुख विमला तमाङले नगरपालिकाले कृषिलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो । यहाँका सबैलाई कृषिम आवद्ध हुन भन्दै आएका छौं उहाँले भन्नुभयो– “ हामी कृषिमा हाम्रो नगरलाई अब्बल बनाउन चाहन्छौं । ”
आफुहरु देखाउनका लागि मात्रै धान राप्न नआएको भन्दै नगर उपप्रमुख तमाङले कृषिमा कालिका अगाडी बढेको सन्देशदिनपनि कार्यक्रममा सहभागि भएको बताउनुभयो । कृषि प्रधानदेशका नागरिक भएर पनि हामी आफै उत्पादनमुखी कृषिमा नलागेका कारण बाहिरबाट ल्याएको उत्पादनमा निर्भर रहनुपरेको उहाँले बताउनुभयो । अब हामी कुनैपनि बारी, भिर पाखा बाँझो नराखि कृषि उत्पादनमा जोड दिनेगरी नगरपालिका अगाडी बढिरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु सँगै विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागि थिए ।
वडा नं. ८ का अध्यक्ष चित्रवहादुर मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम न्यूरेनी ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाका अध्यक्ष ज्ञानप्रसाद लामिछानेको अध्यक्षतामा आयोजना गरिएको हो ।
रोपाइँ महोत्सवमा महिला पुरुषहरु बीच हिलोमा दौड प्रतियोगिता समेत आयोजना गरिएको थियो ।