चितवन । आईसीटीको माध्यमवाट कक्षामा भएका सबै बालबालिकाहरुको सिकाईलाई थप प्रभावकारी बनाउने उद्देश्यले कालिका नगरपालिका क्षेत्रका ६ वटा सामुदायिक विद्यालयहरुलाई टेलिभिजन वितरण गरिएको छ । यसले अफलाईन टुल (सिकाईका पोर्टहरु)को माध्यमबाट कक्षा कोठालाई बालबालिका केन्द्रित बनाई सिकाईस्तर उकास्न सहयोग पुग्ने विश्वास छ ।
कालिका नगरपालिकाको समन्वय र अटिजम केयर चितवन सोसाईटीको प्राविधिक सहयोगमा संचालित समावेशी शिक्षा परियोजना अन्तर्गत कालिका नगर क्षेत्रभित्रका ६ वटा सामुदायिक विद्यालयहरुलाई नगर प्रमुख विनोद रेग्मीले ४ लाख ९३ हजार रुपैयाँ बराबरको टिभी वितरण गर्नुभयो ।
विद्यालयहरुमा कक्षा ई सी डी देखि ३ कक्षा सम्म विद्यालयको आवश्यकता पहिचान गरी १७ थान टि भि वितरण गरिएको हो।
टेलिभिजन पाउनेमा भीमोदय नमुना माध्यामिक विद्यालय, माध्यामिक विद्यालय शमीपुर, जनहित माध्यमिक विद्यालय, पृथ्वी माध्यमिक विद्यालय, चतुर्मुखी माध्यामिक विद्यालय र राष्ट्रिय माध्यामिक विद्यालय मजवाङ रहेका छन् । यि विद्यालयहरुमा समावेशी शिक्षाको नमुना विद्यालयको रुपमा विकासगर्ने उद्देश्यले आइसीटीको माध्यमवाट कक्षामा भएका बालबालिकाहरुलाई सिकाइन्छ । यहि सिकाईलाई थप प्रभावकारी बनाउन टेलिभिजन वितरण गरिएको हो ।
कालिका नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ४ का वडाध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कालिका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले कालिकाको शैक्षिक क्षेत्रमा समावेशी शिक्षा परियोजनाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । महिला संजालको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नगर उपप्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाधर रिमाल, गैर सरकारी संघसंस्था समन्वय शाखाको प्रमुख प्रकाशचन्द्र पौडेल, HI का कन्ट्री डाइरेक्टर मदनराज जोशी, अटिजम केयर चितवन सोसाइटीको सचिव सुनिलचन्द्र शर्माको आतिथ्य थियो ।