इच्छाकामना गाउँपालिकाले ल्यायो ७७ करोड ८८ लाख ९२ हजारको बजेट

चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७७ करोड ८८ लाख ९२ हजारको वजेट पारित गरेको छ । गाउँपालिकाको सोमबार आयोजित पन्ध्रौ गाउँ सभामा उपाध्यक्ष माया सिलवालले बजेट पेस गर्नुभएको थियो । कुल विनियोजित बजेट मध्ये चालु तर्फ ४३ करोड ३ लाख ३७ हजार र पुँजीगत तर्फ ३४ करोड ८५ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेट मध्ये ५५ दशमलव २४ प्रतिशत खर्च हिस्सा चालु खर्चमा समेटिएको छ । पूँजिगत बजेटका लागि ४४ दशमलव ७६ प्रतिशत मात्रै बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकालले संघिय, प्रदेश र आन्तरिक आयलाई मुल्यांकन गर्दै बजेट पारित गरेको हो । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि संघबाट ४७ करोड ४२ लाख, प्रदेश सरकारबाट ७ करोड ८ लाख ३४ हजार रुपैयाँ आउने अपेक्षा गरेको छ । यस्तै संघिय राजश्व बाँडफाँटबाट ९ करोड ९८ हजार, प्रदेश राजश्व बाँडफाँटबाट ३ करोड ९ लाख ६४ हजार र आन्तरिक आयबाट १० करोड ३० लाख ९३ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले सबैभन्दा धेरै सामाजिक विकासमा बजेट छुट्याएको छ । जसमा ३५ करोड ५ लाख १ हजार रूपैयाँ बजेट छुट्याएको छ । स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल, भवन लगायतको पूर्वाधार विकासमा गाउँपालिकाले २३ करोड ३६ लाख ६८ हजार रुपैयाँ विनियोजन गरेको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ११ करोड ९९ लाख ४९ हजार, आर्थिक विकास तर्फ ६ करोड २३ लाख ११ हजार विनियोजन गरेको गाउँपालिकाले सार्वजनिक गरेको पुस्तिकामा उल्लेख गरिएको छ ।

कृषि, उद्योग, पर्यटन, सहकारी, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति प्रवद्र्धनलगायतले प्राथमकिता पाएको छ । यस्तै पूर्वाधार विकास तथा सिंचाइँले पनि प्राथमिकता पाएको छ । कृषि तर्फ गाउँपालिकाले लागत साझेदारीमा बाख्रापाल, सुन्तला खेती, मौरीपालन, मकै खेती प्रवद्र्धन, कृषि बाली तथा पशुपन्छीमा फैलिने रोग नियन्त्रण सम्बन्धि कार्यक्रम अगाडि बढाएको छ । शिक्षा क्षेत्रको विकासका लागि २२ करोड ६४ लाख विनियोज गरिएको छ । जसमध्ये विद्यालय पूर्वाधार सुधार कार्यक्रममा १ करोड ५० लाख, गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता, शिक्षक व्यवस्थापन लगायतमा बजेट विनियोजित भएको छ ।

भौतिक पूर्वाधार विकासको लािग कोटदेखि हात्तीवाङ सडक इच्छाकामना १ सडक स्तरोन्नतीको लागि ३ करोड, भालुभञ्ज्याङ जलविरे सडक स्तरोन्नती गर्न २ करोड, गर्दास झाङझुङ्गे सडक कालोपत्रेका लागि २ करोड, विपन्न चेपाङ आवास कार्यक्रमका लागि ३ करोड ३० लाख, झोलुङ्गे पुल निमार्णका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । स्थानीय उत्पादन प्रवद्र्धन, विद्यार्थीको पोषण सुधार कार्यक्रममा समेत गाउँपालिकाले बजेट छुट्टाएको छ । पर्यटनसंग जोडिएका होटल व्यवसाय, यातायात व्यवसाय, होमस्टे, कला संस्कृति प्रवद्र्धन एवम् स्थानीय रैथाने बालीको संरक्षणका लागि २० लाख बजेट विनियोजन भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको