श्री एयरलाइन्सको आज काठमाडौं–भरतपुर परीक्षण उडान, गृहमन्त्री लामिछानेले उद्घाटन गर्ने

चितवन । श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान गर्दै छ । कम्पनीले क्यु ४०० सिरिजको जेट इन्जिन जहाजमार्फत भरतपुरमा उडानको तयारी गरेको हो । परीक्षण उडानको औपचारीक रुपमा उद्घाटन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भरतपुर आउँदै छन् । गृहमन्त्री लामिछाने आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

भरतपुरमा परीक्षण उडानका लागि श्री एयरलाइन्सले नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति पाएसँगै परीक्षण उडान गर्न लागेको हो । श्री एयरलाइन्सले उडान अनुमति पाएपछि बुद्ध एयरको एकाधिकार पनि तोडिएको छ । बुद्ध एयरको एटीआर–४२ सिरिज फेज आउट हुने चरणमा रहेको प्राधिकरणका कर्मचारी बताउँछन् । श्री एयरलाइन्सले टर्बोप्रोपको उडानको लागि अनुमति पाएको हो ।

श्री एयरलाइन्सले नियमित रुपमा भरतपुरमा उडान भरेमा हवाईभाडा घट्ने विश्वास लिइएको छ । बुद्ध एयरले अहिले काठमाडौँ–भरतपुरको हवाई भाडा एकतर्फी चार हजार ७३९ रुपैयाँ लिने गरेको छ । श्री एयरलाइन्सले उडान अनुमति मागेको जहाजको क्षमता ८० सिटको हो । छोटो रनवेमा पनि अवतरण गर्न मिल्ने जहाज यस कम्पनीसँग रहेको छ । जहाज उत्पादन कम्पनी बम्बार्डियर एरोस्पेसले क्षेत्रीय र सर्ट हल रुट अपरेशनलक्षित क्यु ४०० सिरिजका जहाज उत्पादन गरेको हो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको