नेपाल- श्रीलंकाबीचको खेल वर्षाका कारण प्रभावित

अमेरिका। आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेललाई वर्षाले प्रभावित बनाएको छ।

खेल सुरु हुनुभन्दा आधा घन्टाअघि टस हुन पर्नेमा ढिलाइ भएको छ।

अपडेट : आइसिसीका अनुसार मैदानको निरिक्षण अब स्थानीय समयअनुसार राति ८:३० र नेपाली समयअनुसार विहान ६:१५ बजे हुनेछ। त्यसपछि मात्र टसको बारेमा निर्णय हुनेछ।

समूह ‘डी’ मा पहिलो जितको खोजीमा रहेका दुवै टोलीलाई अमेरिका फ्लोरिडास्थित ब्रोवार्ड काउन्टीको मौसमले चिन्ता बढाएको छ।

सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको ७:४५ मा भने रोकिएको छ।

मैदानको आउटफिल्डमा पानी जमेको छ। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको छ।

आइसिसीका अनुसार खेल सुरु हुने समयभन्दा ३ घन्टापछि (स्थानीय समयअनुसार राति १०:४१ बजे र नेपाली समयअुनसार विहान ८:२६ बजे) खेल सुरु हुन पर्नेछ।

मैदानको विषयमा मैदान प्राविधिकले अन्तिम पटक (स्थानीय समयअनुसार साँझ ८:३५ र नेपाली समयअनुसार विहान ६:२० बजे) मैदानको अवस्थाबारे जानकारी गराएपछि खेलको विषयमा निर्णय हुनेछ।

ढिला गरी खेल हुने सम्भावना भएमा ओभर घटाएर कम्तिमा ५ ओभरको खेल हुनेछ।

खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोडिडा आइपुगेका हजारौं दर्शकका लागि पनि मौसमले खिन्न बनाएको छ।

केही समर्थकहरु खेल सुरु हुनभन्दा तीन घन्टा पहिले नै रंगशाला आइपुगेका छन्।

श्रीलंकाविरूद्धको खेलअघि अन्तिम अभ्यासका लागि सेन्टर ब्रोवार्ड काउन्टी रंगशालामा भेटिएका नेपालका कप्तान रोहितकुमार पौडेलको पनि मौसमकै चिन्ता थियो।

गर्मी बढिरहेको फ्लोरिडामा अहिले हरेक दिनजसो वर्षा भइरहेको छ। दुई दिनअघि पनि भारी वर्षा हुँदा ब्रोवार्ड काउन्टी मैदानमा पानी निकै जमेको थियो।

तर ग्राउन्ड स्टाफ भने पानी रोकिएको २० मिनेटपछि मैदान खेल्न योग्य हुने दाबी गर्छन्।

यो मैदानको पीच अमेरिकाको न्युयोर्क र डालासको तुलनामा ब्याटिङका लागि उपयुक्त दिएको छ।

वार्म अप खेलमा श्रीलंकाविरूद्ध नेदरल्यान्ड्सले यो मैदानमा १८१ रन जोड्दा जावाफी ब्याटिङ गरेको श्रीलंकाले १६१ रन मात्र जोड्न सकेको थियो।

आयरल्यान्ड विरुद्धको अर्को खेलमा श्रीलंकाले १६३ रन जोडेको थियो। यद्यपी आयरल्यान्ड १२१ रनमा अलआउट भएको थियो। विश्वकपको समूह चरणको खेल भने यो मैदानमा पहिलो पटक हुन लागेको हो।

नेपालका कप्तान रोहित पनि श्रीलंका र नेपालबीचको खेल हाइ स्कोरिङ हुने विश्वास गर्छन्।

‘यहाँको पीच ब्याटिङका लागि उपयुक्त देखिन्छ। न्युयोर्क र डालासको भन्दा फरक छ,’ उनले भने, ‘नेपाल र श्रीलंकाबीचको खेल हाइस्कोरिङ र रोमाञ्चक हुन्छ भन्ने आसा छ।’

२००७ मा निर्माण गरिएको रंगशालामा न्युजिल्यान्ड र श्रीलंकाबीच २०१० पहिलो टी-२० भएको थियो। अन्तिम पटक भारत र वेस्ट इन्डिजले यो मैदानमा गत वर्ष यो मैदानमा टी-२० खेल खेलेका थिए।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको