पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेशसभासमक्ष विश्वासको मत माग्दै प्रस्ताव पेश गर्नुभएकोमा उहाँको पक्षमा ३१ मत परेको छ भने उहाँको विपक्षमा २८ मत परेको सभामुख कृष्ण धितालले बताउनुभयो ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा पाण्डेलाई कांग्रेसका २७, राप्रपाका दुई, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) र नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रदेशसभा सदस्य जित्नुभएका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा गरी ३१ जनाले विश्वासको मत दिनुभएको थियो ।
देवकोटाले फ्लेर क्रस गर्नुभएपछि प्रतिपक्ष दलहरूले दलीय व्यवस्था कायम गर्न माग गर्दै नाराबाजी गर्नुभएको थियो । गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
गण्डकीमा एमालेको २२ र नेकपा माओवादी केन्द्रको सभामुखसहित ८ सांसद रहनुभएको छ । गण्डकी प्रदेश सरकार नीति कार्यक्रम र बजेटको अन्तिम तयारीमा छ । असार १ गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।