काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै छन् । आज नै नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आज नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । ती अधिकारीले भने, “प्रधानमन्त्रीद्वयबीच संक्षिप्त भेटवार्ता हुनेछ ।”
प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । प्रधानमन्त्री यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकबाट मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरिएको थियो ।
गएको बुधबार प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो । त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए ।