चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिको एक होटलबाट यौनजन्य क्रियाकलापमा लगाइएका दुई नाबालिकासहित तीन महिलाको उद्धार गरिएको छ । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो ।
उद्धार गरिएका महिलाहरुलाई संरक्षण केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उद्धार गरिएका दुई नाबालिकाको उमेर १५ वर्ष रहेको छ भने एक महिलाको उमेर ३० वर्ष रहेको छ ।
नाबालिकाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले होटल सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङलाई पक्राउ गरेको रिजालले बताए । होटल सञ्चालक ढकालका श्रीमान भरत भनिने भक्तविलास घिमिरे फरार रहेको उनले बताए । फरार रहेका घिमिरेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पक्राउ परेकाहरुमाथि मानव बेचविखनविरुद्धको मुद्धा दर्ता गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
चितवन जिल्ला अदालतबाट सात दिनको म्याद लिएर घटनाको अनुसन्धान गर्ने काम भइरहेको रिजालले जानकारी दिए । होटलमा काम लगाइदिन्छु भनि विभिन्न प्रलोभन देखाएर नाबालिकाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको रिजालले बताए ।