कैलाश सिरोहियालाई प्रहरीले हाजिर जमानतमा छोड्दै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले हाजिर जमानतमा छोड्ने भएको छ। सरकारी वकिल कार्यालय स्रोतका अनुसार फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोड्न लागिएको हो।

‘उहाँलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ अनुसार अनुसन्धानका लागि हिरासतमा राख्न नपर्ने भन्दै छोड्न लागिएको छ। त्यसका लागि कागज बनाइँदै छ,’ स्रोतले भन्यो।

उक्त संहिताको दफा १५ मा भनिएको छ- अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारण सहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी कि जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख सक्नेछ।

सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक तीन दिनको म्याद थप गरेको थियो। तेस्रो पटक तीन दिनको म्याद थप गर्दा सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकूलताको कारण उपयुक्त अस्पतालमा लगेर उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपयुक्त हुने आदेश दिएको थियो।

अनुसन्धानका लागि नागरिकता विवरण किताबमा रहेको हस्ताक्षर र हस्तलिखित नमूनाको परीक्षण प्रतिवेदन माग गरी मिसिल संलग्न गर्ने, सिरोहियाको औंठाछापको नमूना परीक्षणको लागि पठाउने र घटना विवरणका कागज बुझ्न जिल्ला प्रहरी कार्यालय काठमाडौं लगायत निकायबाट विवरण मगाउन बाँकी रहेको भन्दै धनुषा जिल्ला अदालतले सोमबार प्रहरीलाई तीन दिन म्यादका लागि अनुमति दिएको थियो।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो। जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषाबाट पक्राउ अनुमति लिएको थियो। पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए। यसअघि जाहेरी परेको खबर बाहिरिएपछि सिरोहियाले विज्ञप्ति जारी गरेका थिए।

उनले राज्यले २०३३/२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए। त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको