तामाङ भाषा र संस्कृतिलाई आधार बनाएर लेखिएको पुस्तक ‘डम्फुको आत्मालाप’ बारे चितवनमा विमर्श

चितवन । तामाङ भाषा र संस्कृतिमा आधार बनाएर लेखिएको सिन्धुलीका कथाकार भक्त स्याङतानको कथा संग्रह ‘डम्फुको आत्मालाप’ बारे चितवनमा शनिबार विमर्श भएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा भएको कार्यक्रममा मकवानपुर र चितवनका लेखक तथा समालोचकहरुले कथा संग्रहको बारेमा विमर्श गरेका हुन् ।

मकवानपुरका लेखक यश लामाले सहजीकरण गरेको कार्यक्रममा चितवनका समालोचक रमेश प्रभात, कथाकार स्याङतान र साहित्यकार तथा राजनीतिकर्मी अनुराग बनस्तमले कथा संग्रहबारे चर्चा परिचर्चा गरेका छन् । कार्यक्रममा समालोचक प्रभातले पत्रकारहरुले रिपोटिङको क्रममा देखेका र भोगेका कथाहरुलाई संग्रहमा समावेश गरेको बताए । उनले कथा संग्रहबाट भक्त स्याङतानले नेपाली साहित्यमा आफ्नो बेग्लै स्थान बनाउने आशा व्यक्त गरे । उनले भने, ‘ कथा लेखनको शैलीलाई निरन्तरता दिन जरुरी छ । संस्कृति जोगाउने ठूलो चाहना कथाहरुमा रहेको छ । ‘ डम्फूको आत्मालाप’ शीर्षक कथा पढ्दा तीन पटक रोएँ । पुस्तकको नाम निकै सार्थक बनेको छ । साच्चै मन छुने छ ।’ उनले सार्वजनिक सम्पतीहरु निजीकरणको विरुद्ध उठेको नेवारी समुदायको गुठी आन्दोलनलाई कथामा सहीरुपमा उठाइएको बताए ।

कार्यक्रममा राजनीतिककर्मी तथा साहित्यकार अनुराग बनस्तभले तामाङ सभ्यता र संस्कृतिको लागि कथा संग्रह उत्कृष्ट रहेको बताए । उनले भने, ‘ माओवादी जनयुद्धकालको विषयवस्तुलाई सङ्ग्रहमा उत्कृष्टरुपमा उठाइएको छ । पुस्तक पढेपछि तामाङ सभ्यता र संस्कृतिको बारेमा धेरै ज्ञान भयो ।’

कार्यक्रममा स्वागत मन्तव्य राख्दै आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक मधुसूदन दवाडीले तामाङ समुदायमा नयाँ पुस्तालाई भाषा र संस्कृतिबारे राम्रो जानकारी दिन ‘डम्फुको आत्मालाप’ पुस्तक निकै उपयोगी हुने बताए । उनले भने, ‘ राजनीतिक स्वार्थको लागि तामाङ समुदायलाई कसरी प्रयोग गरियो भन्ने विषय पुस्तकका उल्लेख गरिएको छ । इसाई धर्म परिवर्तनको मारमा तामाङ संस्कृति र परम्परा पर्दे गएको पीडा पुस्तकमा प्रस्तुत गरिएको छ । दोस्रो जनआन्दोलनमा सर्वसाधारण नागरिकले राखेका आशा र अपेक्षामाथि कुठाराघात भएको स्मरण कथामा छ ।’ आफ्नो पहिलो कथा संग्रह लिएर आएका लेखक भक्त स्याङ्तानले आफूले देखेका, भोगेका, भेटेका र सुनेका कथाहरूलाई नै उनेर यो संग्रह तयार पारेको बताए।

सांग्रिला बुक्सले प्रकाशन गरेको ‘डम्फुको आत्मालाप’ कथा संग्रहमा कथा संग्रहमा लुङ्दर, छ्योर्तेन, न्होरला, डम्फुको आत्मालाप, म्लाङगैको आपा आदि शीर्षकका तामाङ समुदायका पात्रलाई केन्द्रमा राखेर लेखिएका ११ वटा कथा संग्रहित छन्।
सिन्धुली, काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक, ललितपुर, रामेछाप छेउछाउका तामाङ र नेवार जनजीवनलाई कथाकारले कथामा जस्ताको तस्तै उतारेका छन् । तामाङ भाषामा पात्रहरुलाई उतारिएको कथा संग्रहमा हरेक तामाङ भाषाको नेपाली अर्थ पनि समावेश छन् ।
सिन्धुलीमा जन्मिएका कथाकार स्याङतान सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय कोषाध्यक्ष हुन् भने रेडियो नमोबुद्ध स्थापना गरेर रेडियो पत्रकारितामा झण्डै दुई दशक अघिदेखि सक्रिय रहेका छन् । यो उनको पहिलो कथा संग्रह हो । २२३ पृष्ठको कथा संग्रहको मूल्य ४७५ रूपैयाँ छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको