चितवन । भरतपुर–११, भोजाडदेखि कालिका नगरपालिकाको पदमपुरसम्मको सकसपूर्ण यात्रामा अब भने केही सहजता हुने भएको छ ।अत्यधिक प्रयोगमा आउने यस सडकखण्ड नियमित मर्मत नहुँदा आवतजावतमा यात्रुले निकै कष्ट व्यहोर्न परेको थियो । कालिका नगरपालिका क्षेत्र मानिने खगेरी पुलदेखिको पदमपुरतर्फको सडक लामो प्रयासपछि निर्माण हुन लागेको हो ।
राजनीतिक दाउपेच र भोटको राजनीतिसमेत देखिने यस सडकखण्ड निर्माण एक महिनाभित्रै सक्ने गरी काम भइरहेको छ । बिग्रेको ६ वर्षपछि सडक मर्मतको काम हुन लागेको हो ।
‘दैनिक सयौँ जनता यो बाटो भएर सदरमुकाम आउजाउ गर्छन्, तर सडकको अवस्था झन्झन् बिग्रँदै गएपछि प्रदेश र संघीय सरकारको आशा नगरी पालिकाले नै निर्माण गर्ने गरी बजेट व्यवस्थापन गरियो’, कालिका नगरप्रमुख विनोद रेग्मीले भने, ‘चुनावमा डुल्दा पनि धेरैले यो सडकखण्ड बनाउनुपर्ने माग राखेका थिए र बनाउनका लागि बचन पनि दिएका थिए ।’
कालिका नगरपालिका प्रवेश गर्ने रोडको अवस्था खत्तम देखेपछि स्थानीयवासी मात्र नभई घुम्न आउनेहरुले पनि ध्यानाकर्षण गराएको प्रमुख रेग्मी बताउँछन् । यसअघि पनि बनाउनका लागि प्रदेश र संघीय सरकारमा पटकपटक माग गरेकोमा कुनै सुनुवाइ नभएपछि पालिकाको आन्तरिक स्रोतबाट नै बजेट व्यवस्थापन गरी काम थालिएको उनको भनाइ छ । ४ वर्षअघि २ सय ६५ मिटरमात्रै ढलान हुने गरी भरतपुरतर्फ प्रदेश सरकारले दिएको ४० लाख बजेटको ठेक्का लागेको थियो ।
खगेरी खोलाले भरतपुर महानगर र कालिका नगरपालिकाको सिमाना छुट्याउँछ । भरतपुर महानगरपालिकातर्फको सडक केही स्थानमा ढलान भएको छ भने केही अझै भत्किएको अवस्थामा छ । भरतपुरदेखि पदमपुर ओहोरदोहोर गर्नेहरु सडक बन्ने भएपछि खुसी छन् । साइकलमा दैनिक यो बाटो प्रयोग गर्ने कालिका–३ का रमेश थिङले बाटो बनेपछि यात्रा सहज हुने प्रतिक्रिया दिए ।
नगरप्रमुख रेग्मीले यो सडकसँगै कालिकाको मुख्य बाटो मानिने भीमोदय स्कुलअगाडिको सडकको पनि मर्मत थालिएको बताए । विपी चोकबाट प्रहरी चौकीतर्फको बाटो एउटै प्याकेजको रहेको उनले बताए । कालिका नगरपालिकामा पुराना बाटोहरुको मर्मतसम्भारका साथै नयाँ बाटो अपग्रेड र पिचको काम भइरहेको छ । खोलेसिमल क्लब चोक, क्लब चोक जुटपानी, कालिका मन्दिर क्षेत्रको सडक फराकिलो र पिचको काम भइरहेको नगरप्रमुख रेग्मीले बताए । echitwanpost/दिपेन्द्र अधिकारी









