चितवनमा अनुसन्धान सम्बन्धी कार्यशाला, झण्डै ४० प्रतिशत शोधपत्रमा बौद्धिक चोरी भएको भन्दै चिन्ता व्यक्त

चितवन ।  चितवनमा क्याम्पसका प्राध्यापकहरुलाई अनुसन्धानसम्बन्धी सिप र दक्षता बढाउनको लागि कार्यशाला भएको छ ।
सप्तगण्डकी बहुमुखी क्याम्पस गणित विभागको आयोजनामा रिसर्च म्यानेजमेन्ट सेलको सहयोगमा सो एक दिने कार्यशाला सञ्चालन भएको हो ।

कार्यशालाको उद्घाटन गर्दै सप्तगण्डकी क्याम्पस सञ्चालन समितिका अध्यक्ष टेकबहादुर थापाले कक्षा १२ उतीणर् गरेपछि युवाहरु नेपालमा नबस्ने प्रवृत्तिले चिन्तित बनाएको बताए । ५२ वर्षदेखि नेपालको शिक्षा प्रणाली जस्ताको तस्तै भएकोले यसमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले सुझाव दिए । नेपालको शिक्षा प्रणालीमा सुधार गर्नको लागि सबैको साझा प्रयास आवश्यक पर्ने उनको विचार थियो ।

त्यसैगरी कार्यक्रममा सप्तगण्डकी क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष तथा शिक्षा मन्त्रालयका पूर्वसल्लाहकार रमाकान्त सापकोटाले विश्वविद्यालयका प्राध्यापकहरुले पीएचडी गरेर नामको अगाडि डा. लेख्नुमात्र भन्दा पनि गुगलले चिन्नुपर्ने बताए । कार्यशालाबाट प्राध्यापकहरुले भरपुर लाभ लिएर ज्ञान विद्यार्थीलाई हस्तान्तरण गरी अध्ययन तथा अनुसन्धानमा प्रयोग गर्न सक्नुपर्ने उनले बताए । जन्मदेखि मृत्युसम्म मानिसको जीवनमा गणितको प्रयोग हुने भन्दै सापकोटाले गणितको प्रयोग र महत्वको बारेमा जानकारी गराए । उनले भने, ‘ बच्चा जन्मदा ग्रह नक्षेत्र हेरिन्छ, मर्दा पनि हेरिन्छ ।

जन्मदेखि मृत्युसम्म यसको प्रयोग हुने भएकोले सारा ब्रम्हाण्ड नै पूरा गणित छ । हरेक विषयसँग गणितलाई जोडेर पढाउने हो भने अध्ययन तथा अध्यापन सफल हुन्छ ।’ सापकोटाले गणित जानेको मानिस हरेक समस्याको समाधान छ भन्ने सोच्ने बताए । हरेक प्रश्नको उत्तर खोज्ने काम नै अनुसन्धान भएको बताए ।सप्तगण्डकी बहुमुखी क्याम्पस रिसर्च म्यानेजमेन्ट सेलका संयोजक डा कपिलदेव सुवेदीले अहिले विद्यार्थीले स्नातकोत्तर तह लेख्ने शोधपत्रमा ३० देखि ४० प्रतिशत बौद्धिक चोरी गरेको भेटिने गरेको बताए । कतिपयले परम्परागत शैलीबाट शोधपत्र लेख्ने गरेको उनले बताए । अहिले सफ्टवेयरको प्रयोग बढेसँगै विद्यार्थीहरुले शोधपत्र लेखनमा चोरी गरेको पत्ता लगाउन सजिलो भएको जानकारी दिए । उनले यस्ता कार्यशालाले शोधपत्र लेखन र अनुसन्धानमा सहयोग पुग्ने आशा व्यक्त गरे । डा सुवेदीले भने, ‘ कार्यशालाबाट सिकेको ज्ञान अब लेखिने थेसिसमा प्रतिविम्वित हुनुपर्छ । क्याम्पसमा पढाउने प्राध्यापकले अनुसन्धानमूलक लेख प्रकाशनमा ध्यान दिनुपर्छ ।

अनुसन्धानमा संलग्न हुन चाहने प्राध्यापलाई अनुसन्धान कार्यको लागि विश्वविद्यालय अनुदान आयोगले र सम्बन्धित क्याम्पसहरुले पनि सहयोग गर्नेछन् ।’कार्यक्रममा स्वागत मन्तव्य राख्दै सप्तगण्डकी बहुमुखी क्याम्पस गणित विभागका प्रमुख मणिराज महतोले प्राध्यापकहरुले समय निकालेर यस्ता महत्वपूणर् कार्यशालामा सहभागी हुन अनुरोध गरे । उनले भने, ‘क्याम्पसमा समयक्रमअनुसार आएका अनुसन्धानका नयाँ विधि र तरिकाहरुबारे अपडेट हुन नसके प्राध्यापकहरु सबै कमजोर हुँदै जान्छन् । जतिधेरै अपडेट हुँदै गयो त्यती नै सिक्ने र सिकाउने प्रक्रिया प्रभावकारी बन्छ ।’

कार्यशालामा सानोठिमी बहुमुखी क्याम्पसका प्राध्यापक तथा काठमाडौँ विश्वविद्यालयमा पीएचडी गर्दै गरेको टिकाराम पोखरेलले तथ्यांक विश्लेषण सफ्टवेयर एट्लासको प्रयोग र तथ्यांक विश्लेषणबारे सहजीकरण गरेका छन् । त्यस्तै कार्यशालामा अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गर्दै गरेका प्राध्यापक विनोदखण्ड तिमिल्सिनाले तथ्यांक विश्लेषणमा इन्डनोट सफ्टवेयरको बारेमा सहजीकरण गरेका छन् । कार्यशालामा सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस, मैयादेवी क्याम्पस, सहिद स्मृति क्याम्पस र भवानी शंकर क्याम्पसको गरेर विभिन्न विषय र विभागका ३० जना प्राध्यापकहरुको सहभागिता रहेको छ । क्याम्पसले आगामी दिनमा आर्टटीफिसिएल इन्टेलिजेन्स र जलवायु परिवर्तनबारे कार्यशाला गर्ने तयारी गरेको छ । कार्यशालामा क्याम्पस प्रमुख खिमलाल दाहालसहित विभिन्न विभागका विभागीय प्रमुखहरु, कार्यक्रम संयोजकहरुको सहभागिता रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको