इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

इलाम । इलाम–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए ।

२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपश्चात यो क्षेत्र खाली रहेको थियो । सोही रिक्तता पूर्ति गर्न वैशाख १५ मा उपनिर्वाचन भएको हो । सुहाङ सुवासका कान्छा छोरा हुन् । २०४६ सालमा काठमाडौंमा उनको जन्म भएको हो । उनले कानुन विषय अध्ययन गरेका छन् ।

सुहाङलाई उपनिर्वाचनमा एमालेले माओवादी केन्द्र, नेपाल परिवार दल, नेकपा विप्लव समूह समेतका गठबन्धनका साझा उमेदवारका रूपमा इलाम–२ मा उमेदवार बनाएको थियो ।यसअघि २०७९ मा भएको निर्वाचनमा कांग्रेसका खड्का सुहाङका बुवा सुवासचन्द्र नेम्वाङसँग ११४ को झिनो मतान्तरले पराजित भएका थिए ।गत शनिबार भएको उपनिर्वाचनमा १२ राजनैतिक दल, सात स्वतन्त्रसहित १९ जना उमेदवारले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको