चितवन । व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई आज पुर्पक्षका लागि थुनामा पठाउन आउदेश दिएको अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए । हिजो र आज गरी दुई दिन थुनछेक बहसपछि न्यायाधीश ढकालले घटनामा खामको संलग्न नरहेको भनि अहिले भन्न नसकिने भएकाले तत्काल थुनामा पठाउन आदेश दिएका हुन् ।
आदेशमा भनिएको छ–‘तत्काल प्रमाणको आधारमा दावीको कसुरमा प्रतिवादी खामको संलग्नता नरहेको भनी अहिले नै भन्न नसकिने विद्यमानता नदेखिदा पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी कानुन बमोजिमको सुविधा पाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा (६७) बमोजिम मुद्दा पूर्पक्षका लागि थुनामा राख्न निज प्रतिवादी विविध भन्ने कालीबहादुर खाम मगरलाई कारागार कार्यालय चितवनमा पठाइदिनु साथै निज प्रतिवादीले साक्षी समेत राखेको देखिदा निजका साक्षीहरु समेत बुझि नियन अनुसार गर्न यो आदेश गरिदिए ।’
सर्वोच्च अदालतबाट बुधबार साँझ मिसल आइपुगेपछि हिजो खामको बयान सुरू भएको थियो । १५ वर्षदेखि फरार रहेका खामलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा पेश गरिएको थियो । कोटेश्वरका व्यापारी श्रेष्ठको २०६५ वैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो । खाम त्यो बेला तेस्रो डिभिजनका कमाण्डर रहेका थिए । रामहरि श्रेष्ठको कोटेश्वरमा रहेको घरमा तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो ।
कार्यालयबाट १७ लाख रूपैयाँ नगद र हतियार हराएपछि सोधपुछ छानबिनका लागि भनेर श्रेष्ठलाई शक्तिखोर ल्याइएको थियो । शिविरभित्रै श्रेष्ठको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमाण्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गंगाबहादुर थाप विरूद्ध जाहेरी दिएकी थिइन् । यो मुद्दामा बटला आफै प्रहरीमा उपस्थित भएर ०६८ सालमा तीन वर्षको कैद सजाय पाए पनि अरू कोही पक्राउ परेका थिएनन् ।









