काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हिजोका अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुब्दै गर्दा देशको आर्थिक-सामाजिक रूपान्तरणको काम अधूरै रहेको प्रतिक्रिया दिएका छन्।
आइतबार राति सामाजिक सञ्जाल एक्समा उनले पञ्चायतकालमा गरेको संघर्षको सम्झना गर्दै भट्टराईले २०३३/३४ सालदेखि चर्किएको संघर्षले ४७ सालमा बहुदल पुनःस्थापना भएको बताएका छन्। परिवर्तन अपूरो भयो भनेर आफूहरूले १० वर्ष सशस्त्र विद्रोह गरेको र त्यसको पूरक जनआन्दोलन मधेश विद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको उनको दाबी छ।
उनले क्रान्तिमा सहभागी भएकाहरू नै सत्ताको चास्नीमा डुबेर रूपान्तरणको काम भुलेको आरोप लगाएका छन् । आफूहरूजस्ता केहीले राजनीतिको पुनःसंरचनाको कुरा गर्दा मूर्ख सावित हुनुपरेको भन्दै उनले दुःख व्यक्त गरेका छन्
‘हिजोका अधिकांश क्रान्तिकारीहरू नयॉ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए! देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्’, उनले लेखेका छन्, ‘बाबुरामहरू जस्ता केही ‘मूर्ख’ हरू नयॉ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गराैँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्! तर त्यो अरण्यरोदन बनिरहेछ!’
उनले गल्ती सच्याउन र इतिहास दोहोरिन नदिन सुझाव दिएका छन्। नयाॅ पुस्तालाई थाहा नहुन सक्छ! तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करीब करीब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ! मण्डलेतन्त्रको बिगबिगी थियो।जनतामा चरम निराशा थियो।प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए ।









