विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताउनुभएको छ । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले विभेद अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धि रक्षा हुन नसक्ने बताउनुभयो ।

“संविधानमा दलित समुदायका मौलिक हकलगायत व्यवस्था सुनिश्चित गरिए पनि दलित समुदायमाथि गरिने छुवाछुत भेदभावमा अपेक्षित कमी आउन सकेको छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “छुवाछुत विभेदकै कारण दलित समुदायमाथि अपमान, दमन, उत्पीडन, सामाजिक बहिस्कार, कुटपिट–हत्या जस्ता घटनामा कमी आउन नसक्नु सामाजिक लज्जाको विषय हो ।”

प्रधानमन्त्री दाहालले छुवाछुत उत्पीडनका अतिरिक्त लैङ्गिक विभेद, भाषिक विभेद, क्षेत्रीय उत्पीडनलगायत विभेद सम्पूर्ण रूपमा अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धिको रक्षा र विकासका लागि विभेद अन्त्य हुनुपर्ने बताउनुभयो । देशको राजनीतिक परिवर्तनमा दलित समुदायले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उहाँले दलित समुदायलाई समानुपातिक प्रतिनिधित्वसहितको सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र एवं विभेदरहित समाजको निर्माणको जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।

५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बिहीबार वालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सहभागीहरू । “जातीय छुवाछुत तथा विभेदलाई कडा दण्डनीय अपराधका रूपमा लिई यसमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउनु राज्यको दायित्व हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “समानता र स्वतन्त्रतापूर्वक बाँच्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । यद्यपि, मानव सभ्यताको आधुनिक युगमा पनि दासयुगीन मानसिकताबाट नेपाली समाज मुक्त हुन सकेको छैन ।”

संविधान, ऐन तथा कानुनले सुनिश्चित गरेका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सङ्घर्षको अर्को विकल्प नदेखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जातीय छुवाछुत जस्तो अपराधलाई उन्मूलन गर्न कानुनी प्रावधान कडा पार्नुका साथै सामाजिक जागरण र राजनीतिक अभियान चलाउनुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको