काठमाडौं । शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइएपनि सरकारले अहिले सार्वजनिक बिदा दिएको पाइएको छ । गत माघ २७ गते नै मनाइसकेको चाडलाई अहिले बिदा र शुभकामना दिएर सरकारले मजाक गरेको भन्दै शेर्पा समुदाय नै छक्क परेका छन् ।
लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष नाम्गेल शेर्पाले सोनाम र ग्याल्पो ल्होसार त्यही दिन मनाइसकिएको बताए ।
‘शेर्पाको संस्कृतिलाई लिएर सम्बन्धित विज्ञसँग छलफल नगरी सरकारले क्यालेण्डरमा बिदा जनायो । योभन्दा मजाक के हुन्छ र !’, उनले नेपाल प्रेससँग भने, ‘ग्याल्पो ल्होसार र सोनाम ल्होसार गत माघ २७ गते नै भएको हो । यो चाहिँ पञ्चांग समितिले पोहोरकै तिथि राखेको रहेछ । यो तीन/चार वर्षसम्म एकैपटक हुन्छ ।’
त्यसो भए यो सरकारले किन बिदा दिएको छ ? भन्ने प्रश्नमा शेर्पाले भने, ‘यो सरकारलाई कहाँ के छ थाहा छैन । अस्ति नै बिदा पनि दिएको थियो ।’









