काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सत्ता समीकरणलाई वामपन्थी एकताको सुरुवातको रुपमा चित्रण गरिरहेका बेला उनले त्यसमा हतार गरिहाल्ने अवस्था नरहेको बताए।
उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता नटिक्ने विगतको अनुभव रहेको पनि बताए। उनले अहिले वामपन्थी एकता, सहकार्य, पार्टी एकता लगायतका विषयमा कुनै पनि छलफल नभएको बताए। ज्ञवालीले आफ्नो पार्टी सरकारमार्फत् व्यवस्थामाथि परेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको उनको भनाइ छ।
‘अहिले त हामी यो संसद भित्रबाट राजनीतिक स्थायित्व दिने कुरामा केन्द्रित छौं। त्यहाँ चाहे नेकपा (माओवादी केन्द्र) सँग होस्, नेकपा एससँगको कुरा होस्। किनभने हिजो हामीले चाहे गरेको एकता सदासहायतापूर्वक गरेका थियौं। अत्यन्त उत्साहित पनि थियौं। तर टिकेन। त्यसो भएको हुनाले विगतका पाठहरुलाई हेर्दै तल उपयुक्त वातावरण नबनिकन, कार्यकर्ता तहमै त्यसले भावनात्मक रुपमा एकता नभइकन माथिको जोडघटाउबाट बनेको एकता चाहीँ टिक्दो रहेनछ भन्ने कुरा यहाँनिर देखिएको छ,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने।
उनले वाम एकतामा अहिले नहतारिने बताए। ‘सरकार बलियो बनाउँ, सरकार टिकाउँ, सरकारबाट डेलिभरी दिउँ। दलहरुका बीचमा केही नीतिगत भिन्नताहरु छन्। केही भावनात्मक भिन्नताहरु छन् केही शैलीगत भिन्नताहरु छन्। त्यसमा स्वस्थ बहस चलाउँदै जाउँ। र त्यो कामले बिस्तारैबिस्तारै एउटा भावनात्मक एकता बनाउँदै लग्यो, भावनात्मक रुपमा निकटता ल्याउँदै गर्यो भने सुदूर भविष्यको कुरालाई हामीले इन्कार गर्न सकिँदैन। हामी त सदैव हाम्रो देशमा मूलतः दुई वटा पार्टी बनून। एउटा सेन्टर टु राइट होस्, एउटा सेन्टर टु लेफ्ट होस्। र, एउटा स्थिर राजनीतितिर मुलुक अगाडि बढोस् भन्ने पक्षमा छौं। ढिलो चाँडो मुलुक राजनीतिक ध्रुवीकरणतिर जानैपर्ने हुन्छ। र, त्यो धुव्रकरणको एउटाको नेतृत्वको निःसन्देह एमालेले गर्ने हो। अर्को धुव्रको नेतृत्व काँग्रेसले गर्ने हो। तर अहिले हामी त्यो वामपन्थी एकता, सहकार्य, पार्टी एकता त्यसको कुनैपनि विषयमा छलफल गरिरहेका छैनौं,’ उनले भने।
ज्ञवालीले एमालेले वामपन्थी र लोकतान्त्रिक दुई राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्ने मान्यता बोकेको पनि बताए।









