चितवन । चितवनमा बालबालिका तथा किशोरकिशोरीहरुको अधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ । विश्व परिदृश्य वकालत मन्चले विभिन्न स्थानिय साझेदार संस्थाको सहकार्यमा कार्यक्रम गरेको हो ।
मन्चको बालबालिका र किशोरकिशोरीहरुको हेरचाह, पुनर्मिलन र अटिजम भएकाहरुका लागि समावेशी शिक्षा एवंम प्रशिक्षण परियोजना अन्तरगर्त बालबालिका तथा किशोरकिशोरीहरुको अधिकार सम्बन्धी प्रशिक्षण दिएको विश्व परिदृश्य वकालत मन्चका कार्यकारी निर्देशक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले चार दिनसम्म भरतपुरमा चलेको प्रशिक्षण कार्यक्रममा नेपालभरका २० ओटा संस्थाका ३२ जना सहभागी रहेको बताउँनुभयो । बालबालिका र किशोरकिशोरीका शिक्षा, स्वास्थ्य, जिविको पार्जन र अधिकारलाई कसरी प्रबद्र्धन गर्न सकिन्छ भन्ने बारे जानकारी दिन र आत्मनिर्भर बनाउँन कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार विश्व परिदृश्य वकालत मन्च सन् २००५ सालमा काठमाडौँमा दर्ता भएको गैरसरकारी संस्था हो । यो संस्थाले पिछडीएका सिमान्तकृत जातजातिको पक्षमा काम गर्दै आइरहेको छ । संस्थाले मानव अधिकार, शिक्षा, स्वास्थ्य, महिला शशक्तिकरण, युवा, बालबालिका, पर्यापर्यटन लगायतको क्षेत्रमा काम गर्दै आईरहेको अधिकारीले बताउँनु भयो । सरकारी संस्थाको सहयोगमा विभिन्न अन्धविश्वास, कुरुतिको विरुद्ध जनचेतना मुलक कार्यक्रम पनि मन्चले गर्दै आईरहेको उहाँले भन्नुभयो ।









