चितवन । चितवनको कालिका नगरपालिकाले टोल विकास संस्थाहरुवीच बालश्रमविरुद्ध सचेतनामुलक कार्यक्रम गरेको छ । कालिका नगरपालिकाको आयोजनामा बिहिबार कालिका ६ र ७ मा रहेका ४५ टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई कस्ता किसिमका कामहरु बालबालिकालाई लगाउन हुन्छ, हुदैन बारे सचेतनामुलक तालिम दिईएको हो ।
कार्यक्रममा नगर उप प्रमुख बिमला तामाङ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर उप प्रमुख तामाङले बाल श्रम न्यूनीकरण गर्न नगरपालिका लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो “बालश्रम सबैभन्दा पहिला आफ्नै घरबाट मुक्त गर्नुपर्छ । त्यसपछि मात्र टोल, वडा र नगरबाट मुक्त हुन्छ ।” टोल विकास संस्थाको सहयोगमा मात्र बालश्रम विरुद्धको कार्यक्रम गर्दा प्रभावकारी हुने उहाँको भनाई छ । नगरपालिका र टोल विकास संस्थाको सम्बन्ध नङ्ग र मासुको हुनु पर्ने उहाँले बताउँनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले वि।सं २०८२ भित्र नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा गर्नुपर्ने बताउँनुभयो । त्यसकै लागि अहिलेदेखि नै बालश्रम न्युनिकरण गर्दै लैजान पर्ने भएकाले यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउँनुभयो । संविधान मै बालबालिकाको हक सम्बन्धी व्यवस्था गरेको उहाँको भनाई छ ।
कालकिा वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीले बालश्रम रोक्न टोल विकास संस्थाले महत्वपुर्णभुमिका खेल्नूपर्ने बताउँनुभयो । कार्यक्रममा बाल अधिकारकर्मी तथा युथ क्लवका नारायणगढका उपाध्यक्ष दयाराम कंडेलले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । नगरपालिकाका महिला विकास शाखा प्रमुख सम्झना दवाडीले नगरपालिकाले वडा नं ८,९,१० र ११ का टोल विकास संस्थालाई बुधबार, आज वडा नं ६ र ७ का टोल विकास संस्थालाई र भोलि वडा नं १,२,३,४ र ५ का टोल विकास संस्थालाई बालश्रमविरुद्ध सचेतना दिने बताउँनुभयो ।
सामाजिक विकास समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नगरपालिकाका महिला विकास शाखा प्रमुख सम्झना दवाडीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा महिला विकास निरिक्षक सविना श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।










