चितवन । काठमाडौँमा भइरहेको केपी ओली कपको प्रचार–प्रसार एवं प्रेस चौतारी नेपाल चितवन शाखाको भवन निर्माण सहयोगार्थ चितवनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा गत फागुन ११ गतेदेखि आयोजना गरिएको दोस्रो संस्करणको राष्ट्रिय फुटबल प्रतियोगिताको चितवनमा प्रचार प्रसार गर्दै चितवनमा निर्माणाधीन प्रेस चौतारीको भवनलाई आर्थिक सहयोग गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
राष्ट्रिय युवा सङ्घ नेपाल चितवन र प्रेस चौतारी चितवनबीच फागुन १५ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो । राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज शङ्कर अधिकारीकाअनुसार राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा गत फागुन ११ देखि काठमाडौँमा राष्ट्रिय स्तरको केपी ओली कप भइरहेको छ । अध्यक्ष ओलीको फागुन ११ गते परेको जन्मदिनमा उद्घाटन गरिएको प्रतियोगिता फागुन १९ गतेसम्म सञ्चालन हुने भन्दै अधिकारीले चितवन जिल्लामा केपी ओली कपको प्रचार–प्रसार र प्रेस चौतारी चितवनलाई राष्ट्रिय युवा संघ नेपाल चितवनले आर्थिक सहयोग गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको बताउनुभयो । भरतपुर–७ स्थित कृष्णपुर खेल मैदानमा मंगलबार दिउँसो चार बजे फुटबल खेलिने भन्दै उहाँले सोही कार्यक्रममा प्रेस चौतारी चितवनको निर्माणाधीन भवनका लागि आफूहरुले आर्थिक सहयोग हस्तान्तरण गर्ने बताउनुभयो ।









