चितवन । चितवनबाट हालसम्म १७ जना महिलासहित १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले दिएको जानकारी अनुसार गत कात्तिक १५ गतेदेखि हालसम्म १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन् ।
गैरआवासीय नेपाली नागरिकता लिनेमा अष्ट्रेलिया र अमेरिका गएकाहरु धेरै छन् । ढकालले दिएको जानकारी अनुसार गैरआवासीय नेपाली नागरिकता लिनेमा चितवन जिल्ला देशभरीका जिल्लामा शीर्ष पाँच जिल्ला भित्र पर्दछ । ‘कहिलेकाहिँ दिनमै ४५ जना नै गैरआवासीय नागरिकता लिनका लागि आउने गर्दछन्,’ प्रशासकीय अधिकृत ढकालले भने ।
सरकारले २०८० असोज ३० गतेदेखि गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिन थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत ३० असोजमा गैरआवासीय नेपाली संघका तत्कालीन अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्षहरु कुल आचार्य र बद्री केसीबाट गैरआवासीय नेपाली नागरिकता वितरण सुरु गरेका थिए । आचार्यको जिल्ला प्रशासन कार्यालय पर्वतबाट र केसीको काठमाडौंबाट नागरिकताको प्रमाणपत्र जारी भएको थियो ।
एनआरएन नागरिकता लिएपछि नेपालमा लगानी गर्न, व्यापार व्यवसाय गर्न र पैतृक सम्पत्ति उपभोग तथा बेचबिखन गर्न पाइन्छ ।









