चितवन । नारायणगढ–मुग्लिन सडकमा पुल बनाउन खनेर छाडेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ ।बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको ग २३ प १५५९ नम्बरको मोटरसाइकल मंगलबार राति ११ बजेतिर अनियन्त्रित भई भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो स्थित पुल बनाउन खनेको खाल्डोमा खसेको थियो ।
मोटरसाइकल खाल्डोमा खस्दा चालक रुपन्देही रुद्रपुर १ बस्ने गण्डकी प्रदेश बिपद् ब्यबस्थापन गुल्म बाग्लुङ दरबन्दी भई हाल अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत ३३ वर्षीय प्रहरी सहायक हवल्दार राना र पछाडि सवार रुद्रपुर १ बस्ने ३७ वर्षीय विकास कुमार पुन घाइते भएका थिए ।
रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार राति ११ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । अर्का घाइते पुनको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको उनले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









