कालिकाको भीमवली सामुदायिक वनमा पर्यटकीय पार्क निर्माण

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित भीमवली सामुदायिक वन उपभोक्ता समितिले वनक्षेत्रलाई संरक्षण गर्दै पिकनिक स्पट तथा पर्यटकीय पार्क निर्माण गरेको छ । समितिले विभिन्न संघसंस्था तथा स्थानीय सरकारको सक्रियताबाट पिकनिक स्पट तथा पर्यटकीय पार्क निर्माण गरेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पार्क निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले जानकारी दिए । सदरमुकाम भरतपुरबाट ९ किमीको दूरीमा अवस्थित उक्त पार्कमा बाघ, हात्ती र गैँडाको मूर्ति पनि निर्माण गरिएको छ ।

२०५९ मङ्सिर २ गते पार्कको उद्घाटन गरी सामुदायिक वनक्षेत्रको करिब ५ हेक्टर क्षेत्रफलमा आकर्षक बगैँचा, प्रतीक्षालय, पिकनिक स्पट, पिङ, शौचालय, खानेपानीसहितका सुविधा जुटाइएको अध्यक्ष जयचन्द्रप्रसाद चौधरी बताउँछन् । ‘पार्कमा पुग्ने पर्यटक लोभलाग्दा दृश्य देखेर मोहित हुन्छन् । युवापुस्ता सेल्फी खिच्छन्’, पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष चौधरीले भने, ‘चारैतिर हरियो वनको दृश्यले पार्क साँच्चीकै मनमोहक बनेको छ ।’

दसैँतिहारदेखि नयांँ वर्षको समयमा यहाँ पिकनिक खानेहरुको भीड पनि लाग्ने गर्दछ । उनले भने, ‘पिकनिक स्पटमा बिदाको दिन त कुनै ठाउँ खाली रहनै पाउँदैनन्, दिनको २० देखि ३० वटासम्म समूह पिकनिक खान आउँछन् । बिदाबाहेकका दिनहरुमा पनि दिनको ५ देखि १० वटा समूह आइरहेका हुन्छन् ।’

पिकनिक खानमात्रै नभई विभिन्न संघसंस्थाले सामुदायिक वनहरुमा साधारण सभासमेत गर्न भ्याएका छन् । हिउँदको घाम पिकनिकको याम पनि हो । यही हिउँदको घामलाई सदुपयोग गर्दै भीमवली सामुदायिक वनमा आन्तरिक पर्यटकहरु पिकनिक खान पुग्छन् । सामुदायिक वनहरुले खेर गएका जमिनमा पार्क, पिकनिक स्पट, सेल्फी जोन, वन्यजन्तु उपचार केन्द्र निर्माण गरेपछि आन्तरिक पर्यटक खचाखच भएका छन् ।

फागुनसम्म पिकनिक कार्यक्रममा आउनेहरुको भीड नै हुन्छ । धेरै विद्यालयहरुले विद्यार्थीहरुलाई टाढाको घुमफिरका कार्यक्रमभन्दा नजिकको पिकनिक कार्यक्रमलाई प्राथमिकता दिएका छन् । विद्यार्थीहरुलाई पिकनिक कार्यक्रम सुरक्षित हुन्छ । जोखिम कम हुने, खर्च पनि कम हुने, एकैदिन घर फर्कन सकिने भएकाले विद्यार्थीलाई विद्यालयले पिकनिक कार्यक्रममा समावेश गरेको उनी बताउँछन् ।

सामुदायिक वनले पार्कमा जंगल जिप सफारी सञ्चालन गरेको र बाहिर ७ वटा होमस्टे एक वर्षअघि सञ्चालनमा ल्याएको उनले बताए । स्थानीयहरुसँगै नगरपालिकाको सहयोग र सक्रियतामा पार्कको भौतिक संरचना निर्माण गरिएको र नगरपालिकाले सहयोगमा गेट निर्माण गर्नुका साथै पार्कमा ताल निर्माण गरेर डुङ्गा सञ्चालन गर्ने योजना रहेको अध्यक्ष चौधरी बताउँछन् । तालमा बोटिङ राखिनुका साथै माछापालन गर्ने योजनासमेत बनाइएको छ । थप उद्यान तथा चिल्ड्रेन पार्क निर्माणका लागि दातासँग सहयोग जुटाइरहेको उनी बताउँछन् ।

पार्कलाई पर्यटकीयस्थलको गन्तव्यका रुपमा विकास गर्न सक्ने सम्भावना रहेको बताउँदै अध्यक्ष चौधरीले भीमवली पार्कलाई अझै पर्यटकीयरुपमा व्यवस्थित गर्न सबै उपभोक्ताहरुले सकारात्मक तरिकाले लाग्नुपर्ने बताए । पार्कमा विभिन्न जातका सयौँ बिरूवा रोपिएको छ । पिकनिक खान, रमाइलो गर्न, घुम्न अन्यत्र जानेहरु भिमवल पिकनिक स्पट तथा पार्क निर्माण गरिएपछि रोकिएको बताउँदै उनले पर्यटकको सल्लाहअनुरुप पार्कलाई थप व्यवस्थित बनाइने बताए ।

सामुदायिक वनले आन्तरिक पर्यटक बढाउँदा वनको आम्दानी बढ्नुका साथै रोजगारी पनि सिर्जना भएको छ । भिमवल सामुदायिक वनले पनि केहीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने धेरैले अप्रत्यक्ष लाभ पाएका छन् । उनले भने, ‘पिकनिक स्पट तथा पार्कले गाउँमा होटल, खाजा पसल खुल्ने क्रम बढेको छ ।’

पर्यटकीयस्थलले गाउँमा थप रोजगारीको अवसर सिर्जना गर्ने उनले विश्वास व्यक्त गरे । पार्कको रमणीय दृश्यावलोकन गर्न आउने पर्यटकबाट लिएको शुल्क आम्दानीको मुख्य आयस्रोत हुने सामुदायिक वनका पूर्वअध्यक्ष वसन्त गिरी बताउँछन् । echitwanpost

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको