काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको दावी गरेका छन्।
शहीद प्रतिष्ठान नेपालले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताए।
प्रधानमन्त्री दाहालले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरूलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिए। उनले समान विचार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन पनि आह्वान गरे।
प्रधानमन्त्री दाहालले पार्टी नेतृत्वमाथि उदासिन हुने काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। कार्यक्रममा उनले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक संसदको आगामी अधिवेशनबाट पारित गराउन आफूहरुले बल गरिरहेको पनि बताए।









