काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो सचिवालयको सदस्यमा हेरफेर गर्न लागेका छन् । सचिवालय हेरफेर गर्ने भएसँगै स्वकीय सचिव प्रकाश सिग्देलले पारिवारिक काममा केही समय व्यस्त रहने जानकारी गराएका छन् । सिग्देलले सामाजिक सञ्जाल मार्फत पारिवारिक काममा व्यस्त रहने जानकारी गराएका हुन् ।
सिग्देलको जिम्मेवारी परिवर्तन भएको सहमहामन्त्री प्रतिभा रावलले जानकारी गराइन् । रावलको अनुसार सिग्देललाई चितवन केन्द्रीत हुने गरि जिम्मेवारी दिइएको छ । ‘उहाँले राजीनामा दिनुभएको होइन । जिम्मेवारी हेरफेर भएको हो,’ रावलले भनिन्,‘प्रकाश जी, अब चितवन सचिवालयमा रहेर काम गर्नुहुन्छ ।’
रास्वपा स्रोतका अनुसार सभापति लामिछानेले पाँच सदस्यीय सचिवालय बनाउने तयारी गरिरहेका छन् । ‘सभापतिको काममा सहयोग गर्ने गरी जिम्मेवारी स्वकीय सचिव एक मात्रै हुनुहन्थ्यो । अब जिम्मेवारी नै तोकेर पाँच जना नियुक्त गर्ने तयारी छ,’ रास्वपा स्रोतले भन्यो । पाँच जना मध्ये एक जनामा पूर्व पत्रकार प्रमोद न्यौपाने निश्चित जस्तै छन् । अरु ४ जना टुंगो लाग्न भने बाँकी छ ।









