यू-१९ विश्वकप: आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल, सुपर-६ मा पुग्न खेल जित्नै पर्ने

काठमाडौं । आइसिसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ। दिउँसो पौने दुई बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हुने खेल दुवै टिमका लागि महत्वपूर्ण छ।

सुपर-६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ। यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए। आइसिसीले समूहका शीर्ष तीन टिमलाई सुपर-६ खेलाउँदैछ। कुल १२ टिमले दुई समूहमा सुपर-६ खेल्नेछन्। दुवै समूहका शीर्ष २-२ टिमले सेमिफाइनल खेल्नेछन्।

आइतबार न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको नेपाल बुधबार पाकिस्तानसँग ५ विकेटले हार्‍यो। नेपालका ओपनिङ ब्याटर विपिन रावलले अफगानिस्तानसँगको खेललाई लिएर आफूहरु साकारात्मक भएको प्रतिक्रिया दिएका थिए।

‘हामी अफगानिस्तानसँगको खेलका लागि सकारात्मक छौं। हामी एक अर्कालाई विश्वास गर्छौं। हामी तयार छौं र अफगानिस्तानसँगको खेलमा ब्याटिङ र फिल्डिङमा विशेष ध्यान दिनेछौं,’ उनको भनाइ थियो। नेपालले दुई महिनाअघि अफगानिस्तानसँग एसिया कपमा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपाल पराजित भएको थियो। न्युजिल्यान्डविरुद्ध ९१ रन जोडे पनि उत्कृष्ट बलिङ गर्दै अफगानिस्तानले न्युजिल्यान्डको ९ विकेट लिएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको