चितवन । निर्माणधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढेको छ। भरतपुरको मुख्य प्रवेशद्धार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको २० दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको हो।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताइन्। निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको उनले बताइन्।
सडकको गोन्द्राङदेखि चौबिसकोठी सम्मको फाइनल कालोपत्रे गर्ने काम एक महिनासम्म सक्ने गरी काम अगाडि बढाइएको निर्माण कम्पनी सगुन जेभीले जनाएको छ।
यस्तै, पुलचोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रेको काम भइसकेको छ। महानगरपालिका कार्यालयदेखि लायन्सचोकसम्म खानेपानीको लाइन, दुई वटा कल्भर्ट र ओरालो भूभाग भएकाले काम गर्नलाई कठिनाइ भएको थियो।
भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ देखि औपचारिक उद्घाटन गर्ने कार्यतालिका तय गरिएको भए पनि काम नसकिएकाले आगामी फागुन १८ गते गर्ने गरी समय तोकिएको छ।
निर्माण कम्पनीका अनुसार यो सडक फागुनको पहिलो हप्तासम्म एक तहको कालोपत्रे गरी सक्ने सहमति गरिएको छ।
पुलचोक–गोन्द्राङ ६ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुंगानाका अनुसार सडकको भौतिक प्रगति ७५ र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ। वीरेन्द्र क्याम्पसदेखि लायन्सचोकसम्म नाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताइएको छ।









