चितवन । उद्योग वाणिज्य संघ चितवनमा नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा २४१४ मत खसेको छ । प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले २४१४ मत खसेको जानकारी दिएका हुन् ।
निर्वाचन अधिकृत श्रेष्ठले आज राति ९ बजेसम्म मतगणना गर्ने तयारी रहेको जानकारी दिए । उनले निर्वाचन निकै शान्त र सौहार्दपूर्ण वातावरणमा भएको बताए । उद्योग वाणिज्य संघ चितवनमा दुई हजार ९७४ मतदाता रहेका छन् ।
अध्यक्षका उम्मेदवारहरु सुमनकुमार श्रेष्ठ संस्थापन प्यानलका हुन् भने सिरिष पन्त बिना प्यानल एक्लै चुनावमा होमिएका थिए । यसअघि निर्विरोध भएका सात र निर्वाचनबाट आउने १८ गरी नयाँ कार्यसमितिले चयन हुने छ । मतदान स्थल बाहिर पनि उमेदवारहरुले व्यवसायीसँग मतको लागि अन्तिम पटक आग्रह गरिहेका थिए । संघमा वस्तुतगततर्फ ४ जना, कर्पोरेटतर्फ दुई जना, क्षेत्रीयतर्फ १ जना गरी ७ जना कार्यसमितिका सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ जना पदाधिकारी, उद्योगतर्फ ६ जना, वाणिज्यतर्फ ६ जना र महिलातर्फ १ जनाका लागि आज मतदान भएको थियो ।









