राष्ट्रिय सभा निर्वाचन: १९ सिटमा भागबन्डा, एस असन्तुष्ट

काठमाडौँ ।  सत्ता गठबन्धन दलले राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि सहमति गरेका छन् । शनिबार अबेर राति सकिएको बैठकमा सहमति भए पनि एकीकृत समाजवादी आफूले पाउने सिटप्रति असन्तुष्ट छ । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले सिटको भागबन्डा गरेका हुन् ।

सहमतिअनुसार कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने भएका छन् । कोशीमा कांग्रेस र माओवादीले १/१, मधेशमा कांग्रेस र जसपाले १/१, सुदूरपश्चिममा कांग्रेस र माओवादीले १/१ र लुम्बिनीमा कांग्रेस र माओवादीले १/१ सिट पाउने अनौपचारिक सहमति भएको छ ।

वाग्मती, गण्डकी र कर्णालीमा कांग्रेस र एकीकृत समाजवादीबीच सिट बाँडफाँटमा सहमति हुन सकेको छैन । बाँकी सिटबारे आइतबार बिहान बसेर निष्कर्षमा पुगिने बैठकमा सहभागी माओवादी वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए । समाजवादीले ३ सिटको दाबी गर्दै आएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएको स्रोतले बतायो ।

सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक सहमतिमा टुंग्याउने सर्तमा एमालेसँग भागबन्डा गर्न वार्ता गरे पनि सम्भव नभएपछि गठबन्धन दल साझा उम्मेदवार बनाउन छलफलमा जुटेका हुन् । बैठकमा कांग्रेसले ११, माओवादीले ६, एस र जसपाले ३/३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले एक/एक सिट दाबी गरेका थिए । चार दलले धेरै सिट दाबी गरेको भन्दै जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा बैठकबाट बाहिरिएका थिए । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारमा फेरि चार दलको बैठक बसेको थियो ।

माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । राष्ट्रिय सभाका लागि कोशीमा अन्य र महिला गरी दुई सिट, मधेशमा अन्य र महिला गरी दुई, वाग्मतीमा अपांग, दलित, अन्यसहित चार, गण्डकीमा अपांग, महिला र अन्य गरी तीन, लुम्बिनीमा महिला र अन्य गरी दुई, कर्णालीमा महिला, दलित र अन्य गरी तीन, सुदूरपश्चिममा अन्य, अपांग र महिला गरी तीन सिटका लागि निर्वाचन हुनेछ । गठबन्धनबीच यिनै क्लस्टरका आधारमा भागबन्डा हुनेछ ।

शनिबार नै बसेको एकीकृत समाजवादी बैठकले कम्तीमा ५ सिट दाबी गर्ने निष्कर्ष निकालेको थियो । यसमा सहमति नभए कम्तीमा ३ सिट हुनुपर्ने बटमलाइन तय भएको थियो । समाजवादीका प्रवक्ता जगनाथ खतिवडाले ५ सिटसहित राष्ट्रिय सभा अध्यक्ष दाबी गर्ने निष्कर्ष निकालेको बताए ।

‘राष्ट्रिय सभा अध्यक्ष हाम्रो पार्टीले पाउँदा नै गठबन्धनभित्र सन्तुलन हुन्छ,’ उनले भने, ‘गठबन्धनको प्रमुख घटक भएको हुनाले न्यायोचित सिट दाबी गरेका छौं ।’ राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस र माओवादीको दाबी छ । संवैधानिक अंगमा पार्टीको हिस्सा नभएको भन्दै कांग्रेसले पनि अध्यक्ष पाउनुपर्ने बताउँदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको