श्रमदानबाट पुल निर्माण गर्दै चितवनको इच्छाकामना गाँउपालिका

चितवन ।  चितवनको इच्छाकामना गाँउपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाँउपालिका ७ को गर्दास र स्याङदी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो । गाँउपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिवार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गर्नुभयो । उहाँले गाँउघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेको भन्दै पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताउनुभयो । उहाँले श्रमदानका लागि जनप्रतिनिधि,कर्मचारी र स्थानिय वासिन्दालाई आब्हान गरिएको जानकारी दिनुभयो ।

“३० देखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गर्नेछौं,उहाँले भन्नुभयो,प्राविधिक र निर्माण सामाग्रीका लागि आवश्यक बजेट गाँउपालिकाले व्यवस्था गरेको छ ।” उहाँले पुल निर्माणका लागि गाँउपालिकाले १५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । असार महिनाभित्र सम्पन्न गर्नेगरी काम अघि बढाइएको भन्दै उहाँले पालिकाले नियमित निगरानी गर्ने बताउनुभयो ।

यसअघि हरीपुर खोलामा राखिएको बेलीब्रिजको संरचना प्रयोग गर्नेगरी स्याङदी खोलमा पुल निर्माण गर्न लागिएको इच्छाकामना ७ का वडाध्यक्ष बम बहादुर रानामगरले जानकारी दिनुभयो । हरीपुर खोलामा अहिले पक्की पुल निर्माण भइसकेको छ । उहाँले बेलीब्रिज राख्नका लागि वडाबासीले श्रमदान गर्ने बताउनुभयो । उहाँले पुल निर्माणपछि गर्दास र स्याङदीका बासिन्दा लाभाम्वित हुने जानकारी दिनुभयो । हरेक बर्ष स्याङदी खोलामा आउने बाढीका कारण स्कूल जाने विद्यार्थी र स्थानियले सास्ती खेप्दै आउनुपरेको थियो । रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको