काठमाडौं । साफ च्याम्पियनसिपमा आज नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग खेल्दै छ।
पहिलो खेलमा कुवेतसँग ३–१ गोलको हार व्यहोरेको नेपालले साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा आज साबिक विजेता तथा घरेलु टोली भारतसँग खेल्दैछ।
यो खेल बैङ्गलुरुको श्री कान्तिराभा रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ। पहिलो खेल गुमाएको साबिक विजेता नेपाल सेमिफाइनलमा पुग्न भारतविरुद्ध जित्नै पर्ने दबाबमा छ। तर साफको इतिहास हेर्ने हो भने भारत सँधै नेपालको तगारो बन्दै आएको छ।
पहिलो खेलपछि दिएको प्रतिक्रियाबाट नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले दोस्रो खेलमा सम्भवत आक्रमक फुटबल खेलाउने छन्। लामो समयदेखि भारतीय फुटबल र त्यहाँ खेलाडीका विषयमा जानकार भिन्सेन्जोले आज हुने भारतविरुद्धको खेलमा त्यहि अनुरुप रणनीति बनाउने छन्।
८ पटकको विजेता र ४ पटकको उपविजेता भारत घरेलु भूमिमा अहिलेसम्म भएका ३ वटै संस्करण जितेको छ। यस पटक पनि भारत बलियो देखिन्छ। भारतले हालैमात्र घरेलु मैदानमा कन्फेडेरेसन कप र थ्री नेशन्स कप जितिसकेको छ भने एफएसी एसिया कपको तयारीमा पनि छ।
साफमै बुधबार पाकिस्तानलाई ४–० गोलले हराउँदै भारतले आफ्नो रवाफिलो प्रदर्शन देखाइसकेको छ। भारत र नेपालबीच अहिलेसम्म २३ खेल हुँदा भारत १६ खेलमा विजयी हुँदा नेपालले २ खेलमात्र जितेको छ। ५ खेल बराबरी भएको छ।
साफमा मात्र यी २ बीच ८ खेल हुँदा नेपालले १ खेलमात्र जितेको छ भने बाँकी सबैमा हार व्यहोरेको छ। सन् २०१३ मा घरेलु मैदानमा भएको साफको समूह चरणमा नेपालले भारतलाई २–१ गोलले हराएको थियो।
नेपाललाई त्यो चर्चित जित दिलाउन अनिल गुरुङ र जुमनु राईले १–१ गोल गरे। साफमा भारतलाई नेपालले ४ गोल गर्दा १७ गोल खाएको छ। फिफाको १०१ औं स्थानमा रहेको भारत साफ क्षेत्रको वरियतामा शीर्ष स्थानमा छ। भने नेपाल वरियताको १७४ औं स्थानमा छ।









