गोरखामा जिप दुर्घटना अपडेट:  मृत्यु हुने ५ जनाको परिचय खुल्यो

गाेरखा ।  गोरखामा जिप दुर्घटनामा परेर मृत्यु हुने पाँच जनाको परिचय खुलेको छ । गए राति प्रदेश ३ ०१–०२३ च २४ २७ नम्बरको जिप गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा शहीद लखन–५ का १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । दुलहा र दुलही अर्कै गाडीमा चढेकाले उनीहरू सुरक्षित छन् । गाउँलेहरूका अनुसार उनीहरूले यसअघि आफूखुसी बिहे गरेका थिए र हिजो बिहीवार टिकाटालोका लागि केटा पक्ष जन्तीसहित केटीको घर गएको थियो ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन समितिको टोली उद्धारमा खटिएका छन् । घाइते भएका १२ मध्ये ११ जनाको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको छ । एक जनालाई भने थप उपचारका लागि चितवन रेफर गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको