पत्रकार तथा चेपाङ अभियन्ता केपीकिरण शर्माको ‘भुमरी’माथि अन्तर्क्रिया

चितवन । चेपाङ जातिको उत्थानमा सक्रिय पत्रकार  केपीकिरण शर्माको कृति ‘भुमरी’माथि शनिबार अन्तर्क्रिया गरिएको छ । गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा भएको कार्यक्रममा पत्रकार रमेशकुमार पौडेल र समीक्षक/साहित्यकार सरिता तिवारीले कृतिमाथि टिप्पणी गरेका थिए ।

पत्रकार पौडेलले कृति गैरआख्यान भए पनि आख्यानभन्दा कम नरहेको बताए । ‘भुमरी संस्मरण भए पनि औपन्याशिक शैलीमा लेखिएको छ,’ उनले भने, ‘केपीजीको यो लेखनीले अनुभवी लेखकलाई चुनौती दिएको महसुस गराएको छ ।’

गोरखामा जन्मिएर संघर्षकै क्रममा भारत हुँदै खाडी पुगेर फर्किएपछि पनि केपीकिरण शर्माले चितवनमा गरेको संघर्षलाई लिखित दस्तावेजको रुपमा संग्रहित गराउन सफल भएको उनले बताए ।

समीक्षक सरिता तिवारीले भने समाजले खोजेको र देशले चिनेको मान्छेलाई आफूले चिन्न ढिला गरेको भन्दै पछुतो दर्शाइन् । मान्छेको जीवन कति सहज र कति असहज भन्ने कुरा केपीकिरण शर्मालाई पढेपछि थाहा पाएको उनले बताइन् । ‘केपीजीले फरकफरक जीवन बाँचेको कुरा भुमरीमा पढ्न पाइन्छ ।’

उनले भनिन्, ‘पुस्तक पढ्दै जाँदा कति ठाउँमा त गला नै अवरूद्ध बनायो ।’ भुमरीबाटै उतिबेलाको मध्यनेपालको अर्थतन्त्रबारे सहज तरिकाले बुझ्न पाएको उनको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारीले केपीकिरण शर्मा आफैँमा खुला किताब भएको बताए । ‘तर, पुस्तक नै प्रकाशन गरेपछि केपीकिरणलाई चिन्न बाँकी रहेकाहरुले पनि नजिकबाट अनुभव गर्न पाउँछन्,’ उनले भने । सामाजिक अभियानकर्मी मुरलीप्रसाद गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वशिक्षक एवम् समाजसेवी सरस्वती रिजाल, निबन्धकार रामबाबु घिमिरेलगायतले पनि बोलेका थिए ।

लेखक शर्मा विगत १२ वर्षदेखि गामबेँसीको चेपाङ संरक्षण केन्द्र सञ्चालन गर्दै आएका छन्, जहाँ हाल १४० जना चेपाङ बालबालिका आवसीय सुविधासहित अध्ययन गरिरहेका छन् । कुनै समय पत्रिका सञ्चालन गरेका शर्माले समाचार संकलनकै क्रममा चितवनका पहाडी भेग डुल्ने क्रममा देखेका समस्या समाधानको लागि शिक्षा क्षेत्रमा काम गर्ने योजनासहित चेपाङ बालबालिकाको लागि छात्रावास सञ्चालन गर्दै आएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको