चितवनको कालिका नगरपालिकामा एक वर्षमा १४ किलोमिटर सडक कालोपत्रे

चितवन । चितवनको कालिका नगरपालिकाले एक वर्षको अवधिमा १४ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको छ । ग्रामीण तथा पहाडी क्षेत्रमा सडक विस्तार गरी कालोपत्रे गरिएको छ । नगरभित्रका १२ वटा सडक कलोपत्रे गरिएको छ । साना–ठूला गरी १२ वटा सडक निर्माण गर्दा १४ किलोमिटर सडक कालोपत्रे गरिएको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारको लगानीमा सडक कालोपत्रे गरिएको हो ।

चालू आर्थिक वर्षमा कम्तीमा २० किलोमिटर सडक कालोपत्रे गर्ने गरी धमाधम काम भइरहेको मेयर विनोद रेग्मीले जानकारी दिए । लामो समयदेखि कालोपत्रे हुन नसकेका सडकहरुलाई प्राथमिकतामा राखेर सडक स्तरोन्नति गरिएको छ । पहाडी क्षेत्रका केही बाटोहरु ढलान गर्नुपर्ने भएकाले ५ सय मिटर बाटो ढलान गरिएको मेयर विनोद रेग्मीले जानकारी दिए ।

संघीय बजेट र प्रदेशसँग सहकार्य गरेर नगर क्षेत्रका बाटोलाई कालोपत्रे गर्ने कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । यो एक वर्षको अवधिमा कालोपत्रेसँगै उच्चस्तरीय ग्राभेल बाटो, पहाडी क्षेत्रमा नयाँ ट्रयाक खोल्ने कामसमेत भएको उनले जानकारी दिए । सो नगरपालिकाले शक्तिखोर बजारबाट सिद्धिस्थित तीनदोभानमा जाने सडक पहिलोपटक कालोपत्रे गर्न सफल भएको छ । चेपाङ समुदायको मुख्य बजार सिद्धिसम्म जान यसअघि निकै कठिन थियो । सडक स्तरोन्नति नभएका कारण सवारीसाधन ढुङ्गामाथि हिँडाउन पर्ने बाध्यकारी अवस्था रहेको थियो । सडक कालोपत्रे भएपछि शक्तिखोरबाट सिद्धि सजिलैसँग पुग्ने अवस्था सृजना भएको मेयर रेग्मीले बताए ।

अहिले निर्माण भइरहेका बाटोहरु गुणस्तरीय रहेको कालिका नगरपालिकाकी उपमेयर विमला लामाको दाबी छ । ठेकेदारहरुसँग कार्यविधि नै बनाएर काम गरिरहेकाले गुणस्तरमा कमजोरी नभएको उनको भनाइ छ । अनुगमन समितिको संयोजकसमेत रहेकी उपमेयर लामाले कमसल काम भएमा नगरभित्रका कुनै पनि योजना पुनः त्यो ठेकेदारलाई नदिने र बिग्रिएका बाटोहरु पुनः उसैले बनाउनुपर्ने गरी निर्माण कम्पनीहरुसँग सम्झौता गरेरमात्रै काम गरिरहेको उनले बताइन् ।

बाटो निर्माण सम्पन्न भएको एक वर्षसम्मको जिम्मा सम्बन्धित कम्पनीले लिने गरी ठेक्का सम्झौता गरिएको उनले बताइन् ।
पदमपुरको वडा नं–२ स्थित सृजनाचोकदेखि ७ नम्बर बाटोको चोकसम्मको सडक कालोपत्रे गर्ने काम भइरहेको छ ।

आर्थिक वर्षको बजेटले पुनः यो बाटोलाई जंगलछेउसम्म नै कालोपत्रे गरिनेछ । नगरपालिकाको ३० लाख र वडाको आफ्नै बजेटमध्ये ४० लाख गरी ७० लाखको बजेटमा कालोपत्रे गर्ने काम भइरहेको वडा नं–२ का वडा अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

४० लाखको अर्को प्याकेजमा पनि वडाभित्रको अर्को बाटो कालोपत्रे भइरहेको छ । वडा नं–२ को बाटो नं ३, ५ गरी २ हजार ६०० मिटर सडक, वडा नं–२ र ३ को सिमाना बाटोको सडक पनि कालोपत्रे गरिएको छ । सडक निर्माणमा जोड दिएको सो नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी र सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर उकास्ने कामलाई प्राथमिकतामा राखेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको