चितवन । चितवनको कालिका नगरपालिकाले नगरवासीसंग आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बजेट तयारीका लागि राय सुझाव संकलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज महिला संजालको भवनमा आर्थिक बर्ष २०८०र८१ को लागि बार्षिक बजेट तथा योजना तर्जुमा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
बजेटको प्रभावकारी कार्यान्वयन कसरी गर्ने र नगरपालिकाको विकास समृद्धिमा नगरपालिकावासीहरूको भूमिकालाई कसरी समेट्ने भन्नेबारे अन्तरक्रिया भएको थियो । कार्यक्रममा सहभागि अधिकांशले आगामी आर्थिक बर्षको बजेटमा कृषि क्षेत्रलाई जोडदिनु पर्ने सुझाव दिएका थिए । उनिहरुले डीप बोरिङको व्यवस्थापन, सिंचाई, तरकारी संकलन केन्द्रलाई पनि संचालनमा ल्याउन सुझाव दिए । त्यस्तै सडकबाटो, शिक्षालगायत विषयलाई पनि प्रमुख प्राथमिकतामा राख्न जोडदिएका थिए ।

उपमेयर विमला तामाङले स्वागत मन्तव्य राखेर सुरुभएको सुझाव संकलन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, स्थानीय जनप्रतिनिधि, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, शैक्षिक संस्थाका प्रतिनिधि एवम नागरिक समाजका अगुवाहरुको सहभागीता थियो । नगरप्रमुख विनोद रेग्मीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।
यसैगरी जेठ २४ गते नगरक्षेत्रभित्रका सामुदायिक वनका पदाधिकारीहरुसँग नीति तथा कार्यक्रमको विषयमा रायसुझाव लिने कार्यक्रम छ । यस्तै जेठ २५ गते नगरक्षेत्रभित्रका खानेपानी तथा सरसफाईसंग सरोकार राख्नेहरुसँग सुझाव लिने कार्यक्रम रहेको नगर प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार यसरी सुझाव लिइएको विषयलाई मसिनोसँग अध्ययन गरी उहाँहरुले दिनुभएको सुझावकै आधारमा आगामी आर्थिक वर्ष २०८० र०८२ को नीति तथा बजेट कार्यक्रम तयार पारिने छ ।










