नक्कली शरणार्थी प्रकरण: आजदेखि पक्राउ परेकाहरुको थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ।

पक्राउ परेका १८ जनाको बयान शुक्रबार सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुने काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रहेको मुद्दामा थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने टुंगो लाग्नेछ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान शुक्रबार भएको थियो। ३० जना प्रतिवादी बनाएर राज्यविरुद्धसहित ५ कसुरमा २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो।

पक्राउ परेका अधिकांशले आफूमाथि लागेको आरोपमा इन्कारी बयान दिएका छन्। तर पीडितको जाहेरी, गृह मन्त्रालयले शरणार्थी समस्या समाधानका लागि भन्दै बनाएको कार्यादलको प्रतिवेदन किर्ते भएको देखि विभिन्न तहमा बैंक खाता प्रयोग भएकाहरुसमेत पक्राउ परेकाले पर्याप्त प्रमाण रहेको प्रहरीको दाबी छ।

पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाकार इन्द्रजित राईविरुद्ध कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ।

नेपालमा पहिलोपटक गृह मन्त्रालको राजनीतिक र प्रशासनिक नेतृत्वविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चलेको हो। पक्राउ परेका आरोपीलाई अदालतले थुनामा पठाउँछ वा पठाउँदैन भन्ने सर्वत्र चासो छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको