इपीजीको विषय उचालेर दुई देशबीचको सम्बन्ध बिगार्न चाहिनँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को विषय उक्त विषय सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस बारे आफूले भारतीय पक्षसँग कुरा राखेको बताए।

भारतको औपचारिक भ्रमण पूरा गरी शनिबार साँझ स्वदेश फर्किएका प्रचण्डले त्यो विषय धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने पनि पटकपटक दोहोर्‍याए।

​प्रधानमन्त्री दाहालले भने, ‘सकारात्मक परिणाम आउन लागिरहेका वेला वातावरण बिगार्ने गरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाइदा छैन। यो भ्रमण फलदायी भएको छ। यसलाई अब हामीले सबैले मिलेर सहमति र समझदारीलाई कार्यान्वयनमा लैजानु छ। कार्यान्वयनमा लैजान राम्रो वातावरण बनाउन आवश्यक छ। त्यसकारण भ्रमण विगतको भन्दा परिणाममुखी भएको छ।’

प्रधानमन्त्री दाहालले आफूले इन्दोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरु वस्त्रधारण गर्नुपरेको बताए। उक्त मन्दिरमा मुख्य अतिथिले गेरु वस्त्रधारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौ भारतीय मनमा चिसो पस्ने भएकाले उक्त वस्त्र धारण गरिएको प्रधानमन्त्री दाहालको स्पष्टीकरण थियो।

उनले यसलाई नेपालको सर्वोपरी हितका लागि गरिएको सांस्कृतिक कूटनीति भनेर बुझ्न पनि आग्रह गरे।

प्रधानमन्त्री दाहालले भने, ‘म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हुँ। धर्म निरपेक्षता भनेको धर्मविरोधी होइन नि। सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनै पक्षलाई काखापाखा नगर्नु भनेको हो। आफू धर्म निरपेक्षतावादी भएको नाताले मैले हिन्दु, मुस्लिम, बौद्ध, क्रिश्चियन सबै धर्मावलम्बीप्रति समान व्यवहार गर्नुपर्छ। अब मध्यप्रदेशमा जाने, इन्दोरमा जाने। नजिकै ऐतिहासिक शहर हो उज्जैन भनेको। महाकालेश्वर। त्यहाँ फेरि भव्य संरचना रहेछ। मैले त गएपछि पो थाहा पाएँ। हामीले पनि धार्मिक पर्यटनको विकास गछौं भनेका छौ कि छैनौ? म अहिले कम्युनिष्ट मात्रै होइन, प्रधानमन्त्री पनि हुँ नि। प्रधानमन्त्रीले त सबैलाई समेट्नुपर्छ। मैले लगाउन्नँ भनेको भए के हुन्थ्यो। एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो। यसलाई सांस्कृतिक कूटनीतिको रूपमा लिनुपर्ने हो। नेपालको बृहत्तर हितमा गरिएको कदम हो भनेर बुझ्नुपर्छ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण दुई मुलुकबीचको संशयमा पुगेको सम्बन्धमा विश्वासमा रूपान्तरण गर्न सफल भएको बताए।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको