झलनाथ खनालविरुद्ध हुलहुज्जत गर्ने सन्तोष ‘राजावादी’ सहित ९ जना प्रहरी हिरासतमा

काठमाडौं । पुराना कम्युनिष्ट नेता साध्यबहादुर भण्डारीले हिजो अनामनगरमा एउटा कार्यक्रम राखे । भारतले नेपालका भू-भाग समेटेर बनाएको नक्साको विरोध गर्न तथा नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई दबाब दिने उद्देश्यले आयोजित कार्यक्रममा मुख्य वक्ताका रूपमा निम्त्याइएका थिए झलनाथ खनाल ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले उक्त कार्यक्रममा अपमान भोग्नुपर्‍यो । कार्यक्रममा भाग लिन आएका राजावादी युवाहरूले उनीविरुद्ध नाराबाजी र हुल हुज्जत गरेका थिए । यस क्रममा प्रहरीले सन्तोष राजावादीसहित ९ जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता सिताराम रिजालले पक्राउ परेकाहरूलाई छोड्ने कि मुद्दा चलाउने भन्ने निर्णय भई नसकेको बताए ।

कार्यक्रमका आयोजक भण्डारी एक निकट व्यक्तिले फेसबुकमा एक सूचना राखेर सबैलाई खुल्ला आमन्त्रण गरेका थिए । फेसबुकको सूचना हेरेर सन्तोष राजावादी आफ्नो समूह लिएर कार्यक्रमस्थलमा आएको भण्डारीले नेपाल प्रेससँग बताए ।

‘उनीहरूलाई हामीले बोलाएका होइनौँ, आफैँले थाहा पाएर आएका रहेका रहेछन्,’ उनले भने, ‘अराजक तत्त्वहरूले हाम्रो कार्यक्रममा भाँडभैलो मच्चाए ।’

प्रहरीले पक्राउ गरेकाबारे जानकारी नरहेको भण्डारी बताउँछन् । उनले निजहरुविरुद्ध प्रहरीमा उजुरी दिनेबारे छलफल भइरहेको बताए ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको